निगमको जिएसए निर्णयमा संचालक सदस्यकै ‘घोर आपत्ति’  

डिसी नेपाल
२० पुष २०७६ ९:३९

काठमाडौं। नेपाल वायुसेवा निगमले कतारमा जनरल सेल्स एजेण्ट नियुक्तिको सम्झौता गर्दा निगमलाई करोडौं नोक्सान पुग्ने गरी संचालन समितिबाट निर्णय गराइएको छ।

पर्यटनमन्त्री योगेश भट्टराई नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटनको तयारीमा व्यस्त भएकै बेला डिसेम्बर २९ साँझ बसेको बोर्ड सञ्चालक समितिको बैठकले कतारका लागि फहद ट्राभल्ससँग सम्झौता गर्ने निर्णय गरेको थियो।

निगमसँग धेरै जहाज नभएको अवस्थामा कममात्र उडान हुँदा विगत वर्षहरुमा दिने गरिएको एजेन्सी कमिशन रकमलाई नै सदर गर्दै फहद ट्राभल्ससँग सम्झौता नवीकरण गर्दा निगमलाई करोडौं घाटा भएको हो। सो कम्पनीलाई ओआरसीमा ३ प्रतिशत, टिकट बिक्रीवापत ७ प्रतिशत कमिशन दिने तय गरिएको छ।

हाल कतारका लागि प्रशस्तै उडान थप गरिएको र निगमले अन्तर्राष्ट्रिय उडानका लागि जहाजहरु थप गरेको अवस्थामा यसरी अन्य मुलुकका नियमति उडान हुने विमान कम्पनीहरुले दिने कमिशनभन्दा दोब्बर बढी कमिशन दिने गरी सम्झौता गर्ने निर्णयमा निगम व्यबस्थापनसँग कमिशनको खेल भएको आरोप लगाइएको छ।

निगम स्रोतका अनुसार, संचालक समितिकोे यस्तो निर्णयले धरासायी हँंदै गरेको निगमलाई थप नोक्सान पुर्याउने भन्दै निगम संचालक समितिका एक सदस्य इन्जिनियर अच्युतराज पहाडीले नोट अफ डिसेन्ट लेखेका छन्।

२०७५ साल यता छनौट गरिएका जिएसएका हकमा मात्र लागू हुने विनियमावलीको अपव्याख्या गर्दै निगमले फहद ट्रभल्ससँगको सम्झौता नवीकरण गर्ने निर्णय गरेको हो।

उनको असहमति पत्रमा निगमले आफ्नो विनियमावलीको प्रावधानविपरीत त्यस्तो सम्झौता गरी निगमलाई घाटा लगाएको उल्लेख गरेका छन्। स्रोतका अनुसार, उनले आफैं संलग्न भएको संचालक समितिको बैठको सो निर्णयप्रति ‘घोर आपत्ति’ पनि जनाएका छन्।

लिखित असहमति पत्रमै उनले आफ्नो घोर आपत्ति रहेको उल्लेख गरेको बताइएको छ। उनले सार्वजानिक टेण्डर आह्वान गरेर प्रतिष्पर्धाका आधारमा जिएसए छनौट गर्नु पर्नेमा त्यसो नगरिएकोले अनियमितताको आशंकासमेत गरेको स्रोतको दावी छ।

२०७५ साल यता छनौट गरिएका जिएसएका हकमा मात्र लागू हुने विनियमावलीको अपव्याख्या गर्दै निगमले फहद ट्रभल्ससँगको सम्झौता नवीकरण गर्ने निर्णय गरेको हो। त्यसमा पनि म्याद सकिंदैछ, जिएसए नियुक्तिको प्रक्रिया शुरु गर्नुपर्छ भन्ने कुरा निगमलाई पहिले नै थाहा नहुनेजस्तो गरी म्याद सकिने मिति आएपछि भिजिट नेपाललाई असर गर्ने कारण देखाई हतारमा निर्णय गरिएको छ।

निगमको सो बैठकमा कार्यकारी अध्यक्ष मदन खरेल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, अर्थ मन्त्रालयका सहसचिव विष्णुराज ढकाल, संचालक सदस्य इन्जिनियर अच्युतराज पहाडी र निगमको मानव संशाधन विभागका निर्देशक अशोक सिग्देलको सहभागिता थियो।

संचालक सदस्य पहाडीले मात्रै फहद ट्राभल्सलाई जिएसएको म्याद थप गर्ने प्रस्तावमा लिखित विरोध गरेकाले बहुमतले निर्णय गरिएको थियो। तर निगमका प्रवक्ता गणेशबहादुर चन्दले भने कतारका लागि नभएर रियादका लागि म्याद थप गर्ने प्रस्ताव आएको दाबी गरे।

‘संचालन समितिमा एक जनाले विरोध गर्ने वित्तिकै कुनै पनि निर्णय पास हुँदैन,’ प्रवक्ता चन्दले डिसी नेपालसँग भने, ‘यो प्रस्ताव पनि अस्वीकृत भएको छ। अब अर्को बैठकमा फेरि प्रस्ताव हुनसक्छ।’

प्रवक्ताले त्यसो भनेपनि संचालक समितिद्वारा त्यसदिन गरिएको तीनवटा निर्णयमध्ये पहिलो निर्णय नै कतारको लागि जिएएस फहद ट्रालभको नविकरण सम्बन्धि निर्णय भएको उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *