प्रदेश प्रमुख प्रसाईंद्वारा अख्तियार आयोग हेटौँडाको प्रतिवेदन ग्रहण

डिसी नेपाल
२८ पुष २०७६ १९:४८

हेटौंडा । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिमको अधिकार प्रयोग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ वार्षिक प्रतिवेदन आयोगको प्रदेश ३ को तर्फबाट प्रमुख शिवकुमार कार्कीले चढाएको प्रतिवेदन आज ग्रहण गरे।

सो अवसरमा प्रदेश प्रमुख प्रसाईंले प्रदेशमा सुशासन ल्याउन र जनतालाई दिइने सेवा सुविधासँग सम्बन्धित सरकारी निकाय र आयोजनाबाट हुने अनियमित र भ्रष्टाचारजन्य कार्यलाई अख्तियार अनुसन्धान आयोगका पदाधिकारीले निर्भिक भई कसैको दबाबमा नपरी कारवाही अघि बढाउन आग्रह गरे।

उनले प्रदेशको १३ जिल्लामा जनताका लागि गरिने विकासका पूर्वाधार निर्माणलगायत स्थानीय निकायबाट हुने सेवासुविधा, सिफारिस, जग्गाको नामसारी, नागरिताको सिफारिस गर्ने क्रममा भएका अनियमित कार्यका लागि आयोगले तथ्य, अध्ययन अनुसन्धान गरी कानूनी दायरामा ल्याई अपराधलाई नियन्त्रण गर्ने प्रयासप्रति प्रतिबद्ध रहनुपर्ने बताए ।

अख्तियार अनुसन्धान आयोग बागमती हेटौँडाका प्रमुख शिवकुमार कार्कीले प्रदेशमा शिक्षा, स्थानीय निकाय, स्वास्थ्य, मालपोत कार्यालयलगायत आयोजनामा भएका अनियमित कार्यको हाल छानबिन भइरहेको र अनुसन्धान कार्य सम्पन्न गरिएपछि विशेष अदालतमा मुद्दा दायर गरिने जानकारी दिए ।

उनले अस्वभाविकरुपले आर्जन गरेको सम्पत्तिका साथै जनतालाई दिइएको असुविधालगायत जनगुनासोलाई आयोगले तत्कालै टोली खटाई अनुसन्धान गर्ने कार्यलाई तीव्रता दिएको र घटनासँग सम्बन्धित व्यक्तिलाई पक्राउ गरी कारवाही थालिएकाले अब भ्रष्टाचार नियन्त्रणको थप प्रयास अपरिहार्य प्रदेश सरकारको सहयोग आवश्यक रहेको छ भने ।

आयोगको एक तथ्याङ्कअनुसार आव २०७५/७६ मा कूल २४ हजार ८५ उजुरीमध्ये १५ हजार ५२७ उजुरी फछ्र्यौट गरिसकेको जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *