कावासोतीमा २१ करोडको लागतमा चिस्यान केन्द्र निर्माण हुँदै

डिसी नेपाल
६ माघ २०७६ १०:२६

नवलपुर । नवलपुरको कावासोतीमा रु २१ करोडको लागतमा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण हुने भएको छ ।

‘प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजी स्वादेशका लागि’भन्ने नारा लिएर फर्किएका १०१ युवाको पहलमा कावासोती नगरपालिका–१४ अग्यौलीमा चिस्यान केन्द्र निर्माण हुन लागेका हो।

ती युवाले रिटर्नी कृषि तथा पशुपालन समूह स्थापना गरेर संस्थामार्फत केन्द्र बनाउन लागिएको समूहका अध्यक्ष नेत्रनारायण थनेतले जानकारी दिए ।

उनका अनुसार केन्द्र सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको २० र समूहको ३० प्रतिशत लगानी केन्द्रमा हुनेछ।

कृषिउपजको वृद्धिका लागि किसानलाई अत्याधुनिक तालीम र बीउबिजन चिस्यान केन्द्रले नै उपलब्ध गराउने अध्यक्ष थनेतको बताए ।

परियोजना संयोजक युवराज पाठकका अनुसार अहिले चिस्यान केन्द्र बनाउन अन्तिम मस्यौदा पूरा भएको र आवश्यक पर्ने सामग्री सम्बन्धमा कम्पनीसँग जानकारी लिने काम जारी रहेको छ।

करिब दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको केन्द्र जर्मन प्रविधिबाट बन्ने छ । फलफूल, तरकारी र मासु भण्डारण गरिनेछ ।

किसानले केन्द्रलाई आफ्ना उत्पादन बेच्न सक्नेछन् र भाडामा लिएर आफ्ना सामान राख्न चाहनेका लागि पनि सेवा उपलब्ध हुने छ । केन्द्र स्थापना अगाडि बढेपछि कृषक खुशी भएका छन्।

जिल्लामा उत्पादन हुने सुन्तला, अमिलो, आलु, प्याजलगायत कृषिउपज यहाँ भण्डारण गरेर बेमौसममा बिक्री गरी अम्दानीमा वृद्धि गर्न सकिने प्रधानमन्त्री आधुनिकीकरण परियोजना नवलपुरका वरिष्ठ कृषि विकास अधिकृत विष्णुप्रसाद शर्माले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *