मन्त्रालय राख्न जग्गाको खोजी तीव्र

डिसी नेपाल
६ माघ २०७६ २२:४४

हेटौंडा । वाग्मती प्रदेशको स्थायी राजधानी तोकिएसँगै प्रदेश सरकारले मन्त्रालयका लागि जग्गा खोजी शुरु गरेको छ । हाल प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालय साँघुरा भएको अवस्थामा सरकारले व्यवस्थित ठाउँको खोजी शुरु गरेको हो ।

प्रदेश सरकारले हाल खाली रहेको हेटौँडा उपमहानगरपालिका– ९ मा रहेको हेटौँडा सिमेन्ट उद्योगको जग्गालाई सदुपयोग गर्न पहल गरिरहेको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए। उनका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित सबै मन्त्रालय निर्माण गर्न पुग्ने जग्गा भए पनि उद्योगको नाममा जग्गा भएकाले प्रदेश सरकारको नाममा ल्याउनका लागि प्रक्रिया शुरु गरिएको छ ।

प्रदेशको स्थायी राजधानी र नामाकरण भएपछि प्रदेशका मन्त्रालय निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया शुरु गरिएको मुख्यमन्त्री पौडेलले बताए । हाल मन्त्रालय रहेका भवन उपयुक्त भए पनि अन्य थुप्रै प्रयोजनका लागि समस्या भएकाले जग्गाको खोजी भइरहेको हो ।

अहिले मुख्यमन्त्री कार्यालय र विभिन्न मन्त्रालय फरक–फरक स्थानमा छन् । अब एउटै स्थानमा सबै मन्त्रालय र प्रदेशसभाको भवन निर्माण गर्नेगरी काम थाल्ने तयारी भएको छ । सबै मन्त्रालय निर्माणका लागि अहिले डिपिआर निर्माण गर्ने, यसका लागि सबै तयारी थाल्ने र काम भने आगामी वर्षको बजेटमार्फत गराउने तयारी भएको मुख्यमन्त्री पौडेलले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *