वृद्धाश्रम जथाभावी हुनुभएन : मुख्यमन्त्री

डिसी नेपाल
७ माघ २०७६ १८:४९

हेटौंडा । देशभरि सञ्चालन भइरहेका वृद्धाश्रम र दिवासेवा केन्द्रको बृहत् कार्यशाला गोष्ठी हेटौँडामा शुरु भएको छ । वृद्धाश्रम तथा दिवासेवा केन्द्रको छाता सङ्गठन राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको आयोजनामा भएको गोष्ठीको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै वृद्धाश्रमको नाममा जथाभावी पसलझैँ आश्रम सञ्चालन हुन नहुने धारणा राखे।

देशभरका ७७ जिल्लाका ४ सय प्रतिनिधि सहभागी कार्यक्रममा उनले निश्चित अवस्थामा बाहेक आश्रम सञ्चालन गरिनु आवश्यक नरहेको र सञ्चालित आश्रमले आश्रित वृद्धवद्धालाई आफ्नै घरमा पुनः स्थापित गराउन पहल गनुपर्ने बताए ।

घरबारविहीन, बेसहारा र असहायहरुका लागि एक जिल्लामा बढीमा एउटा तर व्यवस्थित आश्रम सञ्चालन गरिनुपर्ने उनको तर्क थियो । “कोठामा थुन्ने र सिट्ठी फुकेपछि दौडेर खाना खान जाने अनि फेरि कोठामै थन्क्याइने वृद्धाश्रमले वृद्धवृद्धाको वास्तविक हित गर्न सक्दैन”, उनले भने । उनले सरकारले आफ्नो कार्यकालसम्म वृद्धभत्ता पाँच हजार पु¥याउने दाबी गरे।

मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले ज्येष्ठ नागरिक विगतका सिर्जनशीलताका मुहान भएको बताए । वर्तमानमा उनीहरुको अनुभव र ज्ञानलाई समाजमा थप सिर्जनशील भएर अगाडि बढाउनुपर्ने उनको धारणा थियो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष श्याम बस्नेतले ज्येष्ठ नागरिक भनेको सबै कुराको परिपक्वताको प्रत्यक्ष उदाहरण भएको बताए। “जीवनमा पढेको, परेको, गरेको, भागेको त्यसको सामना गर्दै जीवनको उत्तरार्धमा आइपुग्दा ज्येष्ठ नागरिक स्वयम्मा एउटा सुसंस्कृत समाज निर्माण गर्न एउटा ठूलो ज्ञानथलो बनेको हुन्छ”, उनले भने।

कार्यपत्र प्रस्तुत गर्दै पूर्वसचिव कृष्णहरि बाँस्कोटाले सन् २०५० सम्ममा विश्वमा बालबालिकाको भन्दा ज्येष्ठ नागरिकको सङ्ख्या बढी हुने बताए । उनले सरकारले सबै ज्येष्ठ नागरिकलाई एकै कोटीमा नराखी उमेर समूहका आधारमा वर्गीकरण गरेर सेवासुविधा वितरण गर्नुपर्ने धारणा राखे । पूर्वसचिव बाँस्कोटाले ज्येष्ठ नागरिकका लागि छुट्टै ज्येष्ठ नागरिक अस्पताल निर्माण गरिनुपर्ने, ज्येष्ठ नागरिकलाई हर क्षेत्रमा छुटको व्यवस्था गरिनुपर्ने, ६० वर्ष कटेकालाई बैंकहरुले ऋण उपलब्ध नगराउने प्रचलन सच्याउनुपर्ने, हरेक वडामा मनोरञ्जन र योग केन्द्र सञ्चालन गरिनुपर्ने, कूल बजेटको कम्तीमा पाँच प्रतिशत बजेट ज्येष्ठ नागरिकका लागि विनियोजन गरिनुपर्ने आदि प्रावधानलाई लागू गरिनुपर्ने बताए ।

महासंघका अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिक समाजका अमूल्य निधि भएको यथार्थ हरेक नागरिकले बुझ्नुपर्ने बताए । महासंघका महासचिव छत्रबहादुर प्रधानले नेपालमा थुपै्र ज्येष्ठ नागरिकले मानसिक तथा शारीरिक समस्या झेल्नु परिरहेकाले त्यसको अन्त्य गरी ज्येष्ठ नागरिकमैत्री सुसंस्कृत समाज निर्माणका लागि पहल गर्न राष्ट्रव्यापी कार्यशाला आयोजना गरिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *