किन रोकियो हवाई इन्धन ढुवानी?, चालक र निगमका आ–आफ्नै तर्क

डिसी नेपाल
१२ माघ २०७६ १०:५०

काठमाडौं। नेपाल आयल निगमले तोकेको सीमाभन्दा धेरै हवाई इन्धन चुहावट भए दोब्बर क्षतिपूर्ति तिनुपर्ने नियमले आफूहरु मर्कामा परेको भन्दै हवाई इन्धन ढुवानी गर्ने ट्यांकर चालकहरुले शनिबारदेखि ढुवानी ठप्प पारेका छन्।

दैनिक करिब पाँच लाख लिटर इन्धन माग भइरहेका बेला ट्यांकर चालकहरुले ढुवानी ठप्प पारेपछि इज्धन अभाव हुने देखिएको छ। आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले हाल एक हप्तासम्म पुग्ने इन्धन भण्डारण रहेको जानकारी दिए।

उनले अहिले निगमसँग सात दिन धान्ने इन्धन भण्डारण रहेको बताए। ‘निगमसम्म जम्मा सात दिनलाई पुग्ने हवाइ इन्धन भण्डारण गर्ने क्षमता रहेको छ। शनिबारदेखि ट्यांकर चालकले ढुवानी ठप्प परेका छन्। केही दिनसम्म पनि ढुवानी सुचारु भएन भने त्यसले हवाइ उडान प्रभावित हुने देखिन्छ,’ प्रवक्ता गोइतले भने।

ट्यांकर चालकहरुले चुहावट भएको इन्धनको दोब्बर क्षतिपूर्ति दिनु परेको भन्दै सो व्यवस्था खारेज नभएसम्म ढुवानी नगर्ने अडान लिएका छन्।

नेपाली ट्यांकरले भारतबाट इन्धन ढुवानी गर्दै आएका छन्। भारतबाट नेपाली डिपोसम्म इन्धन ढुवानी हुँदा चुहावट हुने परिणाम तोकेको छ। ० दशमलव २५ प्रतिशत चुहावटलाई छुट दिने व्यवस्था छ। त्यसभन्दा बढी चुहावट भए दोब्बर क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ।

तर, आयाल निगम स्रोतले भने चालकहरुलाई चोरी गर्न छुट दिन नसकिने बताएको छ। निगम उच्च स्रोतले डिसी नेपालसँग भन्यो, ‘उहाँहरुको माग इन्धन चोर्न पाउनुपर्छ भन्ने किसिमको छ, त्यस्तो गर्न सकिने अवस्था छैन।’

यो विषयमा ट्यांकर चालक र निगमबीच गएको शुक्रबार पनि छलफल भएको थियो। तर, सो छलफलमा सहमति जुट्न नसकेपछि शनिबारबाट इन्धन ढुवानी रोकिएको छ।

निगमले भने चालक र व्यवसायीको समस्या भएकाले यो विषय उनीहरु आफैले टुंगयाउनुपर्ने बताउँछ। निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलले डिसी नेपालसँग भने, ‘ट्यांकर चालकहरु व्यवसायीकै मान्छे हुन्, उनीहरु आफैंले यो समस्या समधान गर्नुपर्छ।’

सर्वोच्च अदालतले अत्यावश्यक सेवा प्रदायकहरुले हडताल गर्न नपाउने फैसला गरे पनि ट्यांकर चालकहरु भने सो फैसलाको विरुद्ध हडतालमा उत्रिएका हुन्। निगमले यो विषयलाई पनि कडाईका साथ राख्ने जनाएको छ।

नेपाली ट्यांकरले भारतबाट इन्धन ढुवानी गर्दै आएका छन्। भारतबाट नेपाली डिपोसम्म इन्धन ढुवानी हुँदा चुहावट हुने परिणाम तोकेको छ। ० दशमलव २५ प्रतिशत चुहावटलाई छुट दिने व्यवस्था छ। त्यसभन्दा बढी चुहावट भए दोब्बर क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ।

उता ट्यांकर चालक संघले भने आइतबारसम्म आफ्ना माग पूरा नभए ट्यांकरका साँचो मालिकलाई बुझाउने बताएको छ। संघका अध्यक्ष पशुपति पाठकले डिसी नेपालसँग भने, ‘हामी मर्कामा छौं, माम्रो माग पूरा भएन भने साँचो ट्यांकर मालिकलाई बुझाउँछौं।’

अहिले १८१ वटा ट्यांकरले भारतको रक्शौलबाट काठमाडौंको सिनामंगलसम्म इन्धन ढुवानी गर्दै आएका छन्। चालकहरुको मुख्य माग रक्सौल समस्या र क्षतिपूर्ति समाधान रहेको छ। रक्शौलमा ट्यांकरमा इन्धन लोड गर्दा नै ७ लिटरसम्म कम इन्धन लोड हुने गरेको चालक संघका अध्यक्ष पाठकले जनाए।

उनले भने, ‘रक्सौलमा हामीलाई नेपाली भनेर हेप्छन् र ७ लिटर कम इन्धन लोड गर्छन्। हामीले यो समस्या समाधान गर्न पटक पटक आग्रह गर्दा पनि निगमले गरेको छैन। लोड नै कम भएपछि हामीले पूरा इन्धन कहाँबाट ल्याउने?’

ट्यांकर चालकले इन्धन चोरेका घटनाहरु बढेपछि केही वर्षअघिदेखि निगमले लगइन प्रणाली लागू गरेको छ। लगइन प्रणालीअनुसार रक्सौलमा इन्धन लोड भएपछि निगमले ताला लगाउँछ। र सिनामंगलमा त्यो ताला निगमले नै खोल्छ।

लोड भएको इनधनको ० दशमल २५ प्रतिशतसम्म चुहाटलाई निगमले छुट दिने गर्छ। त्यो भन्दा बढी चुहावट भए दोब्बर क्षतिपूर्ति चालकले निगमलाई दिनुपर्छ। यही विषयमा चालकहरु असन्तुष्टि हो।

चालक संघका अध्यक्ष पाठकले भने, ‘हामी काम गरेर छोराछोरी पाल्न आएका हौं। उल्टै हामीबाट क्षतिपूर्ति लिने भएपछि कसरी काम गर्न सकिन्छ। लगइन प्रणालीको स्वागत गर्छौ। तर, रक्सौलमा ताला निगमले लगाउँछ, सिनामंगलमा ताला निगमले खोल्छ। यसैले घाटा नाफाको जिम्मेवारी पनि निगमकै हुनुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *