पर्वतको फलामखानी उत्खनन शुरु, भूगर्भविद्को टोली महाशिलामा

पर्वत। झण्डै सात दशकदेखि बन्द भएको पर्वतको महाशिला गाउँपालिका–६ को साविक फलामखानी गाविसमा रहेको फलामको खानी उत्खनन प्रक्रिया शुरु भएको छ।

खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडाँै आफैँले खानीको उत्खनन प्रक्रिया शुरु गरेको हो। विभागले चालू आर्थिक वर्षमा फलामखानीको विस्तृत सर्वेक्षण थालेको छ। त्यसका लागि विभागका वरिष्ठ भूगर्भविद् ठाकुर कँडेल, भूगर्गविद् प्रकाश पोखरेलसहितको टोलीले एक सातादेखि अध्ययन गरिरहेको छ। टोलीले सम्भावित ठाउँहरुमा फलामको मात्रा र गणस्तर के–कति छ भनेर अध्ययन गरिरहेको भूगर्भविद् पोखरलेले जानकारी दिए।

उनका अनुसार इआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी)को माध्यमबाट अध्ययन अनुसन्धानकोे काम भइरहेको छ। अहिले हेर्दा कुनै ठाउँमा सतहमा फलाम भेटिएको छ भने कुनै स्थानमा जमीनमुनि भएको पाइएको छ। दुईदेखि आठ मिटरसम्म खानी रहेको साधारण अध्ययनले देखाएको छ । टोलीले नमूना सङ्कलन पनि गरिरहेको पोखरेलले बताए। उनले भने, “यहाँको परिमाण र गुणस्तरका बारेमा विस्तृत अध्ययनको प्रतिवेदनपछि अगाडिको काम शुरु हुन्छ।”

यहाँ दुई किलोमिटर लम्बाइमा खानी फैलिएको देखिन्छ। उनका अनुसार अध्ययनकै क्रममा रहेकाले विस्तृत विवरण आइसकेको छैन। विभागको मानदण्डअनुसारको प्रतिवेदन आएमा फलामखानी उत्खनन प्रक्रिया शुरु हुन्छ । “यस वर्ष विस्तृत सर्भे गर्छौँ, सबै प्रतिवेदन सकारात्मक आएमा अर्को आर्थिक वर्षदेखि उत्खननको काम शुरु हुन्छ”, पोखरेलले भने।

नेपाल सरकारले बन्द रहेका फलामखानीको उत्खननमा तदारुकता देखाएसँगै कँडेल नेतृत्वको टोलीले सम्भावित क्षेत्रहरुमा अध्ययनलाई तीव्रता दिएको फलामखानीका वडाध्यक्ष रामबहादुर सुनारले जानकारी दिए। धुँवाकोटे फलामले चिनिएको खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र लुम्बिनीस्थित नेपाल पर्वत खनिज उद्योगबीच विसं २०६७ पुस ८ मा सम्झौता पनि भएको थियो। उक्त कम्पनीले लामो समय चासो नदेखाएपछि विभागले नै काम शुरु गरेको पोखरेलले बताए।

उक्त फलामखानी सदरमुकाम कुश्माबजारबाट झण्डै ४० किलोमिटरको दूरीमा रहेको छ। महाशिलाको लुङ्खु र फलामखानी क्षेत्रमा फैलिएको उक्त खानीको विस्तृत सर्वेक्षण गरी उत्खनन गर्न लामो समयदेखि स्थानीयवासीले माग गर्दै आएका थिए।

पछिल्लो समय गाउँपालिकाले पनि खानी सञ्चालनका लागि चासो देखाएको थियो । सत्तरी वर्ष अघिदेखि यहाँ स्थानीयवासीले फलाम उत्खनन गर्दै आएका थिए। यहाँको फलाम अन्यत्रजस्तो प्रशोधन गर्नुपर्ने नभएको पाकापुस्ताको भनाइ छ। खानीबाट निकालेको फलाम सिधै तताएर आवश्यक सामग्री बनाउन सकिन्छ।

उतिबेला यहाँको फलामबाट बनेका घरेलु हतियार बागलुङ, पाल्पा, स्याङ्जाका विभिन्न गाउँमा बिक्री हुन्थ्यो। आधुनिक मेसिन र सडकको यात्रा नहुने भएकाले पर्वत आसपासका खोलामा निर्माण भएका पुलमा समेत यहीँको फलामबाट बनेका लठ्ठाको प्रयोग गरिएको थियो । मोदीवेणी र जैमिनीघाटका पुलमा अझै पनि फलामखानीको फलामले बनेका लठ्ठाका पुल देख्न सकिन्छ ।

यहीँको फलाम निकालेर बिक्री गरेर अहिलेभन्दा पाँच दशकअघिसम्म फलामखानीका करीब ४०० परिवारको रोजीरोटी चलेको थियो। गाउँभरि फलामको खानी भएकैले उतिबेला यो गाउँको नामै फलामखानी राखिएको वडाध्यक्ष सुनारले बताए।

फलामखानीमा बसोबास गर्ने विक र दर्जी परिवारबाट कम्तीमा एक जना उतिबेला फलामको खानीमै बास बस्ने गर्दथे। स्थानीय अगुवा गोविन्दबहादुर विश्वकर्माका अनुसार तत्कालीन जिल्ला विकास समितिको पहलमा २०६० को दशकमा केन्द्र सरकार र विभिन्न खानी तथा भूगर्भशास्त्रीहरूसँग यहाँको खानी उत्खनन गर्न विभिन्न प्रयासहरू गरेको भए पनि सम्भव भएको थिएन।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position