जर्मनी र फ्रान्ससहित ४ देशले आज विमान चार्टर्ड गरेर आफ्ना नागरिक फर्काउँदै
काठमाडौँ । नेपालमा रहेका विदेशी नगरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान गरिरहेका छन् ।
लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावासमार्फत नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ती मुलुकले आफ्ना नागरिक चार्टर्ड उडानमार्फत लगिरहेका हुन्।
पछिल्लो एकसाता दिनहुँजसो चार्टर्ड उडान भए। कतिपय मुलुकले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर्ड गरी तथा केहीले अन्य मुलुकको जहाज चार्टर्ड गरी स्वदेश लगेका छन् । लकडाउनको आज १२औँ दिनको अवधिसम्म एक हजार ५०० भन्दा बढी विदेशी नागरिक फर्किसकेका छन्।
यसैबीच आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार देशका जहाजले चार्टर्ड उडान गर्दैछन् ।
जर्मनी र फ्रान्स दूतावासले कतार एयरको दुई जहाज चार्टर्ड गरी आफ्ना नागरिक लैजाने तयारी गरेका छन् । उनीहरुलाई लिन दुवै जहाज काठमाडौँ आइसकेका छन् । त्यस्तै मलेशियाको मालिण्डो एयर, चेक रिपब्लिकन र श्रीलङ्कन एयरले आज चार्टर्ड उडान गर्ने विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।
कतार एयरवेजको जहाज केहीबेरमा दोहा हुँदै पेरिस पुग्ने तालिका रहेको विमानस्थलले जनाएको छ । आजै मलेशियाले नेपालमा रहेका आफ्ना नागरिकलाई मलेशिया एयरलाइन्सबाट फिर्ता लैजानेछ ।
नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा रहेका नागरिकलाई काठमाडौँ जम्मा गरी सम्बन्धित मुलुक फर्कनका लागि सहजीकरण गरिरहेको छ। रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment