नेपालको शान्ति र बाढी प्रभावितका लागि अमेरिकाको जर्मनटाउनमा विशेष प्रार्थना सभा

डिगबहादुर तामाङ
५ असोज २०८३ ८:१२

जर्मनटाउन, अमेरिका। नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै मृतकको चिरशान्तिको कामना तथा पीडित परिवारको सुख, शान्ति र पुनःस्थापनाका लागि अमेरिकाको मेरील्याण्डस्थित जर्मनटाउनमा विशेष प्रार्थना तथा शान्ति कार्यक्रम सम्पन्न भएको छ।

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी), केपीसी बुद्धिस्ट रिलिफ र तामाङ सोसाइटी अफ ग्रेटर वासिङ्टन (टीएसजीडब्ल्यू) को संयुक्त आयोजनामा सेप्टेम्बर १९, २०२६ मा मेरील्याण्डको जर्मनटाउनस्थित एनईसीसी भवनमा आयोजित सो कार्यक्रममा ३०० भन्दा बढी नेपाली तथा स्थानीय समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा धार्मिक गुरु, समुदायका प्रतिनिधि, सर्वसाधारण तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति थियो। नेपालमा विपत्तिका कारण उत्पन्न मानवीय पीडा र क्षतिप्रति सामूहिक संवेदना व्यक्त गर्दै सहभागीहरूले नेपाल र प्रभावित समुदायको शान्ति, सुरक्षा तथा शीघ्र पुनःस्थापनाका लागि सामूहिक प्रार्थना गरेका थिए।

कार्यक्रमका प्रमुख आध्यात्मिक अतिथि हाल ‘शान्ति पदयात्रा’ (वाक फर पिस) मा सहभागी  भिक्षु पन्नाकारा थिए। यस्तै, नेपालबाट आउनुभएका  खेन्पो सुरबजित गोङ्बो तामाङको पनि कार्यक्रममा विशेष सहभागिता रहेको थियो।

बुद्धका शिक्षाहरूमा आधारित प्रार्थना तथा आध्यात्मिक प्रवचनका क्रममा करुणा, अनित्य, कारण र परिस्थितिको सम्बन्ध तथा मानव जीवनमा आउने दुःख र विपत्तिप्रति बौद्ध दृष्टिकोणबारे चर्चा गरिएको थियो। कठिन परिस्थितिमा मानिसले भय र निराशाभन्दा करुणा, सजगता, प्रज्ञा र सामूहिक उत्तरदायित्वका साथ अघि बढ्नुपर्ने सन्देश धर्मगुरुहरूले दिए।

धार्मिक गुरुहरूले बाढी तथा विपत्तिमा ज्यान गुमाएकाहरूको चिरशान्तिका लागि प्रार्थना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरे। साथै, प्रभावित तथा विस्थापित परिवारहरूको सुरक्षित पुनःस्थापना, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र जीविकोपार्जनको पुनर्निर्माणका लागि समेत सामूहिक प्रार्थना गरिएको थियो।

कार्यक्रममा नेपाली दूतावासकी द्वितीय सचिव जिना अधिकारी तथा तृतीय सचिवको समेत उपस्थिति रहेको थियो। दूतावासका प्रतिनिधिहरूको सहभागिताले विपत्तिबाट प्रभावित समुदायप्रति प्रवासी नेपाली समुदायको चासो र ऐक्यबद्धतालाई थप अभिव्यक्त गरेको थियो।

विपत्तिको समयमा समुदायले भौतिक तथा आर्थिक सहयोगका साथै आध्यात्मिक र मानवीय साथ पनि प्रदान गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।

कार्यक्रमको समापनमा एनईसीसीका अध्यक्ष प्रज्वल रेग्मीले पूजनीय भिक्षु पन्नाकारालाई उपस्थित भई समुदायलाई आशीर्वाद तथा आध्यात्मिक मार्गदर्शन प्रदान गरेकोमा धन्यवाद तथा आभार व्यक्त गरे। अध्यक्ष रेग्मीले एनईसीसीका तर्फबाट भिक्षु पन्नाकारालाई सम्मानस्वरूप मायाको चिनो (स्मृति-चिन्ह) समेत प्रदान गरे।

नेपालमा शान्ति, करुणा र सद्भाव कायम रहोस् तथा विपत्तिमा ज्यान गुमाउने सबैप्रति चिरशान्ति प्राप्त होस् भन्ने मङ्गलकामनाका साथ कार्यक्रम समापन गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *