कतारमा १२ मुस्लिम संस्थाको सहकार्यमा मनाइयो संविधान दिवस
दोहा, कतार। अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज (अनेमुस) कतारको आयोजना तथा अन्य १२ वटा नेपाली मुस्लिम संस्थाको सहकार्यमा दोहामा भव्य रूपमा नेपालको संविधान दिवस मनाइएको छ। कार्यक्रममा दीप प्रज्वलन, केक कटिङ र शुभकामना आदान-प्रदान गरिएको थियो।
अनेमुस कतारका अध्यक्षको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा अनेमुसका संरक्षक एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपमहासचिव मोहम्मद मुक्तदा मुसलमान प्रमुख अतिथि थिए। मौलाना गुलाम नवीको कुरान तिलावत र राष्ट्रिय गानसँगै सुरु भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपाली मुस्लिम समुदायका अगुवाहरूको बाक्लो उपस्थिति थियो।
कार्यक्रममा अनेमुस कतारका संरक्षकद्वय करिम बक्स मियाँ र मोहम्मद अजिज अली, एनआरएनए आईसीसी सचिव पदम गिरी, सहकोषाध्यक्ष बिमल सुवेदी, सल्लाहकार सागर नेपाल, एनसीसी कतारका उपाध्यक्ष सन्तोष पौडेल र नेपाली महिला समाजकी उपाध्यक्ष मेनुका खतिवडा भण्डारीको सहभागिता थियो।
यसैगरी, नेपाली जनसम्पर्क समिति कतारका उपाध्यक्ष ठाकुर परियार, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष अफसर अली खान र सामाजिक व्यक्तित्व चानक पोखरेल लगायतका वक्ताहरूले आफ्नो धारणा राखेका थिए।
सम्बोधनका क्रममा वक्ताहरूले प्रवासमा रहेर पनि नेपालीहरूले संविधान, राष्ट्रियता, नागरिक अधिकार र कर्तव्यप्रति सचेत रहनुपर्नेमा जोड दिएका थिए। संविधान दिवसलाई औपचारिक उत्सवमा मात्र सीमित नराखी समानता, सामाजिक न्याय र अधिकारका विषयमा प्रवासमा पनि बहस चलाउनुपर्ने उनीहरूको भनाइ थियो। सहभागी मुस्लिम अगुवाहरूले आपसी सद्भाव, सहकार्य र साझा राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरे।
कतारमा पछिल्लो समय संविधान दिवसका सार्वजनिक कार्यक्रमहरू घट्दै गएको परिप्रेक्ष्यमा आयोजित यस साझा कार्यक्रमले राष्ट्रिय विषयमाथिको सार्वजनिक संवादलाई निरन्तरता दिएको आयोजकले जनाएको छ। अनेमुस कतारले आगामी दिनमा पनि सामाजिक तथा राष्ट्रिय मुद्दाहरूमा अन्य नेपाली संघसंस्थासँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment