व्यापारमा मुनाफा खोजौं, सामाजिक विकृति नरोजौं

सागर नेपाल
२७ साउन २०८३ ११:१८

नेपालीहरू विदेशिएर केवल दुःख र पीडा मात्रै पाएका छन् भन्ने भाष्य पूर्ण सत्य होइन। विदेशमा कठिन परिश्रम गरेर आफ्नो जीवन बदल्ने मात्र होइन, अरूका लागि प्रेरणाको स्रोत बनेका थुप्रै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू आज हाम्रो सामु उदाहरणका रूपमा उभिएका छन्।

दुःख गर्नु हिनताको विषय होइन, गर्वको विषय हो किनकि पसिना बगाएर कमाएको सफलतामा आत्मसम्मान हुन्छ। कतारमा श्रमिकका रूपमा प्रवेश गरेका सयौं नेपालीले मेहनत र निरन्तरताका माध्यमबाट आफ्नो व्यवसाय स्थापित गरेका छन्।

कोही कम्पनीका मालिक बनेका छन् भने कोही समाजसेवी र दानीका रूपमा परिचित छन्। अपवादलाई छोड्ने हो भने, प्रगति गर्ने अधिकांश नेपाली आफ्नो समुदायसँग नजिक देखिन्छन् र समाजलाई दुःख पर्दा मलम बोकेर पुग्नेहरू पनि प्रायः यिनै सफल नेपाली हुन्।

तर प्रगतिसँगै केही गम्भीर प्रश्नहरू पनि उठ्न थालेका छन्। विकासको गति बढ्दै गर्दा सामाजिक विकृतिको गति पनि त्यत्तिकै तीव्र र चिन्ताजनक रूपमा बढिरहेको त छैन भन्ने प्रश्न स्वाभाविक रूपमा उब्जिएको छ।

कतिपयले आर्थिक सफलता हासिल गरेपछि आफ्नो विगत बिर्सिन थालेका छन् भने कतिपयले पैसालाई नै सबैथोक ठान्ने र आफूलाई त्यसको स्वघोषित निर्णायकजस्तो प्रस्तुत गर्ने प्रवृत्ति देखाउन थालेका छन्। यही कारण हाम्रो समुदाय नै प्रश्नको घेरामा पर्न थालेको हो कि भन्ने चिन्ता छाउन थालेको छ।

कतारको औद्योगिक क्षेत्र, विशेषगरी सनैयातिर, विभिन्न प्रकृतिका सयौँ व्यवसाय सञ्चालन हुने व्यावसायिक केन्द्रहरू छन्। त्यहाँ धेरै नेपालीले रोजगारी पाएका छन्।

केही नेपालीले अरूका पसलभित्र साना-साना काउन्टर लिएर चकलेट, ड्राइफ्रुट, श्रृङ्गारका सामग्रीदेखि नेपाली गार्मेन्टसम्मको कारोबार गर्दै आफ्नो जीविकोपार्जन गरिरहेका छन्। उनीहरूको संघर्ष सामान्य देखिए पनि त्यसमा ठूलो आत्मनिर्भरता र मेहनत जोडिएको छ र यस्ता व्यवसायमा खासै विवाद वा समस्या देखिँदैन।

तर यही व्यावसायिक केन्द्रमा केही नेपालीले आफ्नै स्वामित्वमा मोबाइल, घडीलगायतका सामान बिक्री गर्ने पसल सञ्चालन गरेको पनि देखिन्छ। नेपालीले आफ्नै व्यवसाय सञ्चालन गरेको सुन्दा स्वाभाविक रूपमा खुसी लाग्छ, तर सयौं व्यवसायबीच केही नेपाली सञ्चालककै कारण कुनै व्यावसायिक केन्द्र नै विवाद, झैझगडा र आरोप-प्रत्यारोपको केन्द्र बन्नु भने दुःखद विषय हो।

पछिल्लो समय केही नेपाली व्यवसायीबीच देखिएका विवाद सामाजिक सञ्जाल हुँदै व्यापक रूपमा सार्वजनिक हुन थालेका छन्। विशेषगरी टिकटक र फेसबुकमा एक-अर्काविरुद्ध आरोप-प्रत्यारोप, बदनाम गर्ने प्रयास र व्यक्तिगत विषयलाई सार्वजनिक बनाउने प्रवृत्ति बढ्दै गएको देखिन्छ। व्यावसायिक प्रतिस्पर्धा स्वाभाविक भए पनि त्यो व्यक्तिगत दुश्मनीमा परिणत हुनु र पारिवारिक तथा व्यक्तिगत जीवनसम्म पुग्नु गम्भीर विषय हो।

अझ दुःखलाग्दो कुरा त विवादको दायरामा व्यक्तिको व्यक्तिगत प्रतिष्ठा मात्र होइन, धार्मिक आस्था र निजी जीवनसमेत तानिन थालेको देखिन्छ। यस्तो प्रवृत्तिले सम्बन्धित व्यक्तिलाई मात्र होइन, कतारमा रहेका समग्र नेपाली समुदायको प्रतिष्ठामाथि समेत नकारात्मक असर पार्न सक्छ।

व्यापारमा प्रतिस्पर्धा गरौँ, तर सामाजिक मर्यादामा होइन। विवाद भए कानुनी तथा सम्बन्धित निकायमार्फत समाधान खोज्न सकिन्छ। सामाजिक सञ्जालमा एक-अर्कालाई गाली गर्ने, बदनाम गर्ने वा व्यक्तिगत जीवनलाई सार्वजनिक बहसको विषय बनाउने बाटोले कसैलाई दीर्घकालीन फाइदा दिँदैन, बरु यसले नेपाली समुदायप्रति बाहिरी दृष्टिकोण नै नकारात्मक बनाउन सक्छ।

हामी नेपालीहरू विदेशमा मेहनत, इमानदारी, अनुशासन र आपसी सद्भावका माध्यमबाट आफ्नो पहिचान निर्माण गरिरहेका छौँ। केही व्यक्तिको व्यवहारकै कारण सम्पूर्ण नेपाली समुदायप्रति गलत धारणा बन्नु दुर्भाग्यपूर्ण हुन्छ।

त्यसैले यस्ता विषयमा नेपाली समुदायले मौन बस्ने कि अभिभावकीय भूमिका निर्वाह गर्ने भन्ने प्रश्न खडा भएको छ। समाज भनेको शुक्रबारका दिन आसन र भाषणमा देखिने केही व्यक्तिहरू मात्र होइनन्, यो श्रम गर्ने श्रमिकदेखि व्यवसाय गर्ने व्यवसायी, साना काउन्टर लिएर जीविका चलाउने दिदीबहिनी तथा दाजुभाइदेखि ठूला कम्पनी सञ्चालन गर्ने उद्यमी सबैको साझा संरचना हो। कसैको व्यक्तिगत विवादले समग्र समुदायको प्रतिष्ठामाथि प्रश्न उठ्ने अवस्था आउँदा सम्बन्धित सबैले जिम्मेवारीपूर्वक सोच्न आवश्यक छ।

आज केही घण्टा उक्त व्यावसायिक केन्द्रतिर घुम्दा विभिन्न नेपाली व्यवसाय र काउन्टरमा पुग्ने अवसर मिल्यो। केही ठाउँमा नेपाली सञ्चालकभन्दा त्यहाँ कार्यरत कामदारहरूमा समेत आफूलाई निकै ठूलो ठान्ने किसिमको व्यवहार देखिन्थ्यो।

भाषा कुन प्रयोग गरियो भन्ने विषय होइन, ग्राहक वा नेपालीले नेपालीमा कुरा गर्दा अन्य भाषामै जवाफ दिने शैलीसमेत कतिपय ठाउँमा असहज लाग्ने खालको थियो। व्यावसायिक आवश्यकताका कारण त्यस्तो व्यवहार हुन सक्ला र सफल व्यवसायी हुनु आफैँमा प्रशंसनीय कुरा पनि हो, तर आफ्नो व्यवसायलाई यति ठूलो ठान्नु कि वरिपरिको समाज र आफ्नै समुदायलाई सानो देख्न थालियोस् भने त्यसले सफलताको अर्थमाथि नै प्रश्न उठाउँछ।

अर्कोतर्फ, त्यही क्षेत्रमा साना–साना काउन्टर लिएर आफ्नो जीविका चलाउन संघर्ष गरिरहेका केही नेपाली दिदीबहिनी तथा दाजुभाइसँग कुरा गर्दा उनीहरूलाई भाडा तिर्नसमेत कठिन भइरहेको सुन्दा मन खिन्न भयो।

एउटै ठाउँमा कोही व्यवसाय विस्तार गरिरहेको छ, कोही करोडौँको कारोबार गरिरहेको छ भने कोही आफ्नो सानो काउन्टर जोगाउन संघर्ष गरिरहेको छ। यो अन्तरलाई पनि हामीले सामाजिक दृष्टिले बुझ्न आवश्यक छ।

सफलता ठूलो हुनु राम्रो हो, तर सफलतासँगै संवेदनशीलता पनि ठूलो हुनुपर्छ। पैसा कमाउनु उपलब्धि हो, तर पैसासँगै मानवीयता गुमाउनु उपलब्धि होइन।

व्यापारमा मुनाफा खोजौं, सामाजिक विकृति नरोजौँ। नेपालीको व्यापार बढोस्, नेपाली उद्यमी अझ सफल बनून्, रोजगारी सिर्जना होस्, साना व्यवसायी पनि उठून् र सबैको व्यापार फस्टाओस्। तर व्यापारसँगै आपसी सम्मान, सामाजिक जिम्मेवारी र समुदायप्रतिको उत्तरदायित्व पनि बढोस्।

अब प्रश्न यही हो कि बढ्दै गएको सामाजिक विकृति कसरी कम गर्ने? यसको उत्तर कुनै एक व्यक्ति वा संस्थासँग मात्र छैन। व्यवसायीले आत्मसंयम अपनाउनुपर्छ, सामाजिक अगुवाले अभिभावकीय भूमिका खेल्नुपर्छ, समुदायले गलत प्रवृत्तिलाई सामान्य ठान्नु हुँदैन र विवादित पक्षले सामाजिक सञ्जाल होइन, कानुनी तथा संवादको बाटो रोज्नुपर्छ।

केही सीमित व्यक्तिको गलत व्यवहारले धेरै असल, मेहनती र इमानदार नेपालीको प्रतिष्ठामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुनु हामी सबैका लागि चिन्ताको विषय हो। विदेशमा नेपालीको पहिचान केवल हामीले कति कमायौँ भन्नेले होइन, कमाएर समाजलाई कति राम्रो बनायौँ भन्नेले पनि निर्धारण गर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *