हुथीद्वारा साउदी राजधानी रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी

डिसी नेपाल
४ असोज २०८३ ७:१०

बीबीसी। यमनका इरान-समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादका साथै रातो सागर (रेड सी) तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूलाई लक्षित गरी ड्रोन तथा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको बताएका छन्।

साउदी अधिकारीहरूले शनिबार रियादधातर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई हावामै नष्ट गरिएको जनाएका छन्। तर, उनीहरूले अन्य आक्रमण वा जनधनको क्षतिबारे भने पुष्टि गरेका छैनन्।

यसअघि, साउदीको राजधानीस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकैका इन्धन ट्याङ्कहरूबाट कालो धूवाँको मुस्लो उठेको देखिएको थियो, जसका कारण शनिबार केही समयका लागि उडानहरू प्रभावित भएका थिए।

इरान-समर्थित हुथीहरूले जुलाईदेखि साउदी अरबमाथि आक्रमण तीव्र पारेयता पहिलोपटक राजधानीमा हवाई आक्रमणको चेतावनी (एयर रेड अलर्ट) बजाउनुका साथै फोनमा साइरन पठाइएको थियो।

अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई “सतर्क रहन र सम्भावित उडान रद्द तथा अन्य यात्रा अवरोधका लागि तयार रहन” आग्रह गरेको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इरान समर्थित हुथीहरूले साउदी अरबका नागरिक विमानस्थल लगायतका क्षेत्रमा शत्रुतापूर्ण आक्रमण गरिरहेका छन्। यो सैन्य द्वन्द्व तीव्र रूपमा फैलिने सम्भावना छ।” विज्ञप्तिमा अगाडि भनिएको छ कि अमेरिकी नागरिकहरूले “यस क्षेत्रको यात्रा वा यस क्षेत्र भएर गरिने यात्राबारे गम्भीरतापूर्वक पुनर्विचार गर्नुपर्छ।”

साउदी नेतृत्वको गठबन्धनका आधिकारिक प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै वायु रक्षा प्रणालीले बिस, ताइफ, फरासान र यान्बु सहरहरूमा “नागरिकहरूलाई लक्षित गर्ने शत्रुतापूर्ण प्रयासहरू” रोकेको बताएका छन्।

हुथी सैन्य प्रवक्ता याह्या अल-सारियाले अनलाइनमा पोस्ट गरेको विज्ञप्तिमा रियाद र तटीय क्षेत्र यान्बुमा रहेको साउदीको राष्ट्रिय तेल तथा ग्यास कम्पनी ‘अरामको’का संवेदनशील संरचनाहरूमा आक्रमण गर्न “ठूलो सङ्ख्यामा ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोनहरू” प्रयोग गरिएको बताएका छन्।

उनले साउदी नेतृत्वले यमनको राजधानी साना (जुन हाल हुथीको नियन्त्रणमा छ) माथि गरेको “अपराधिक आक्रमणको जवाफमा” यो कदम चालिएको बताए। यसअघि, सारियाले साउदी अरबले गत हप्ता यमनभर ३०० भन्दा बढी हवाई आक्रमण गरेको आरोप लगाएका थिए।

हुथीहरू यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारसँग गृहयुद्धमा छन्, जसलाई साउदी अरबको समर्थन छ। उनीहरूले हालैका महिनाहरूमा साउदी अरबभित्रका विभिन्न स्थानहरूमा पटक-पटक आक्रमण गर्दै आएका छन्। यसै हप्ता उनीहरूले यमनमा साउदीको एउटा फाइटर जेट खसालेको जिम्मेवारी पनि लिएका थिए।

एएफपी समाचार संस्थाले यमन गृहयुद्धका दुवै पक्षका सैन्य स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार शनिबार हुथी र साउदी समर्थित सरकारी बलबीच भएको भिडन्तमा ४८ जनाको मृत्यु भएको छ। समाचार संस्थाका अनुसार हुथीहरूले आफ्ना ३१ जना लडाकु मारिएको बताएका छन् भने सरकारी स्रोतले आफ्ना १७ जना सैनिक गुमाएको जनाएका छन्।

शुक्रबार संयुक्त राष्ट्रसङ्घीय निकाय अन्तर्राष्ट्रिय प्रवासन सङ्गठन (आईओएम) ले हालैको भिडन्तका कारण विस्थापित हुनेहरूको सङ्ख्या १०४,७९६ नाघेको प्रतिवेदन सार्वजनिक गरेको थियो।

चुलिँदो साउदी तेल संकटले कसरी बढाउन सक्छ सर्वत्र मूल्य?

 हुथीहरूले आक्रमण तीव्र पारेयता साउदी अरबले रियादका लागि पहिलोपटक हवाई आक्रमणको चेतावनी जारी गरेको छ।

शनिबार बिहानै रियादमा ठूला विष्फोटका आवाजहरू सुनिएका थिए भने ‘किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल’मा ठूला समस्याहरू देखिएका थिए। उडान ट्र्याकिङ वेबसाइट ‘फ्लाइटराडार २४’ ले उडानहरू ढिलाइ र रद्द भएको जनाएको छ।

एएफपीका पत्रकारका अनुसार अरामको कम्पनीको जलेको इन्धन ट्याङ्कको आगो निभाउन दमकलकर्मीहरूले प्रयास गरिरहेको देखिएको थियो। साउदी नागरिक सुरक्षा टोलीले रातभर फोनमा सन्देश पठाएर रियाद र अन्य क्षेत्रमा सम्भावित खतराको चेतावनी दिएको थियो र शनिबार बिहान सतर्कता हटाइएको घोषणा गरेको थियो।

नाम नछाड्ने सर्तमा स्थानीय बासिन्दाहरूले एएफपीलाई बताएअनुसार चेतावनीपछि सहरभरि विष्फोटका शृङ्खलाबद्ध आवाजहरू गुञ्जिरहेका थिए। “मैले अलार्म सुनेँ, त्यसपछि मेरो घरका झ्यालहरू हल्लिए,” उत्तरी रियादका २७ वर्षीय एक बासिन्दाले भने, “यो साँच्चै डरलाग्दो थियो। मैले यस्तो अपेक्षा गरेको थिएन।”

हुथीहरूले हालै रणनीतिक रूपमा महत्त्वपूर्ण बन्दरगाह सहर मोखा र पेरिम द्वीप नियन्त्रणमा लिएका छन्, जुन खाडी मुलुकहरूले एसिया र युरोपमा तेल निर्यात गर्न प्रयोग गर्ने मुख्य समुद्री मार्गको प्रवेशद्वार हो। हुथी समूहले साउदी अरबले हुथी नियन्त्रित उत्तर-पश्चिम यमनका बन्दरगाह र विमानस्थलहरूमा गरेको नाकाबन्दीको बदलामा यो समुद्री नाकाबन्दी गरिएको बताएको छ।

अमेरिका र इजरायलको इरानसँगको युद्धका कारण होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ हर्मुज) प्रभावकारी रूपमा बन्द भएपछि साउदी जलजहाजहरू तेल निर्यातका लागि रातो सागरको यही क्षेत्रमा निर्भर रहँदै आएका छन्।

शुक्रबार, लगानी सम्बन्धी बहुराष्ट्रिय बैंक जेपी मोर्गनले यो युद्धले तेलको मूल्यलाई कसरी असर गर्छ भनेर अनुमान गर्न गाह्रो भइरहेको बताएको छ। उसले आफ्ना लगानीकर्ताहरूलाई पठाएको एक दुर्लभ नोटमा भनेको छ, “हामीलाई यसको अन्तिम परिणामको मोडल कसरी तयार पार्ने भन्ने नै थाहा छैन।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *