राज्यलाई कुर्दाकुर्दै थाकेपछि कुशको शव बनाएर जुम्लाका १० जनाको सामूहिक दाहसंस्कार
मुगु। रसुवाको बाढीमा परी आफ्ना नागरिक बेपत्ता भएको तीन साता बितिसक्दा पनि राज्य संयन्त्रले उनीहरूको अवस्थाबारे कुनै जवाफ दिन नसकेपछि पीडित परिवारले हिन्दु परम्पराअनुसार कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरेका छन्।
गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीका क्रममा टनेल नम्बर २१६ बाट बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिका–५ माथिल्लो लोर्पा गाउँका १० जनाको शनिबार गाउँमै सामूहिक अन्त्येष्टि गरिएको हो। बेपत्ता नागरिक जिउँदै छन् वा छैनन् भन्ने यकिन गर्न राज्य असफल भएपछि निराश बनेका परिवारजनले आफैँ अन्तिम संस्कार गर्ने निर्णयमा पुगेका हुन्।
बाढीपछि आफन्तहरूले खोजी र उद्धारको आशमा तीन सातासम्म दिन गने। तर समय बित्दै जाँदा न त बेपत्ताहरूको सासोखबर आयो, न त शव नै भेटियो। अन्ततः परिवारले हिन्दु धार्मिक परम्परा अनुसार कुशलाई शवको प्रतीक मानी दाहसंस्कार गरेका छन्।
स्थानीय युवा अगुवा रमन बुढाले राज्यको उदासिनताप्रति आक्रोश व्यक्त गर्दै भने, “हामीले हाम्रा मान्छे खोजिदिन पटक-पटक गुहार माग्यौँ। तर न सासको खबर आयो, न लास नै भेटियो। राज्यलाई पर्खिँदा-पर्खिँदै थाकेपछि अन्ततः कुशको शव बनाएर संस्कार गर्न बाध्य भयौँ।”
आफ्ना नागरिक विपद्मा पर्दा खोजतलास र उद्धार गर्नु राज्यको प्राथमिकता र दायित्व हो। तर एउटै गाउँका १० जना नागरिक बेपत्ता हुँदासमेत परिवारलाई स्पष्ट र विश्वसनीय जानकारी दिन नसक्नुले विपद्पछिको राज्य संयन्त्रको जिम्मेवारी र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार रसुवा बाढीमा परी पातारासी गाउँपालिकाका मात्रै ४९ जना नागरिक अझै बेपत्ता छन्। जसमध्ये माथिल्लो लोर्पाका १०, तल्लो लोर्पाका ४, लाम्रीका १५, तिर्खुका ९, जम्नाका २, तल्फीका १ र बाता गाउँका ८ जना रहेका छन्। यसैगरी, चन्दननाथ नगरपालिकाका ४, सिंजा गाउँपालिकाका १ र गुठीचौर गाउँपालिकाका ९ जना गरी जुम्लाका ठूलो सङ्ख्याका नागरिक अझै सम्पर्कविहीन छन्।
No ads found for this position



Facebook Comment