एमालेभित्र विवाद नरहेको ओलीको जिकिर

डिसी नेपाल
३ असोज २०८३ २०:२१

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान दिवस, २०८३ का अवसरमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष समारोह आयोजना गरेको छ।

समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा, कार्यान्वयन र जनताको हितका लागि पार्टी निरन्तर क्रियाशील रहने बताए। उनले मुलुकको लोकतान्त्रिक व्यवस्था र संविधानलाई सुदृढ बनाउँदै जनताका पक्षमा काम गर्न पार्टी दृढतापूर्वक प्रतिबद्ध रहेको उल्लेख गरे।

अध्यक्ष ओलीले संविधान र लोकतान्त्रिक मूल्यमान्यताका पक्षमा एमाले सधैँ उभिने स्पष्ट पारे। जनताको अधिकार, राष्ट्रिय हित र मुलुकको समृद्धिका लागि पार्टीले आफ्नो जिम्मेवारी निरन्तर निर्वाह गरिरहने उनको भनाइ थियो।

उनले संविधान दिवसलाई संविधान निर्माणमा योगदान पुर्‍याउने सबैप्रति सम्मान व्यक्त गर्ने तथा यसका उपलब्धिको संरक्षण र प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता जनाउने अवसरका रूपमा लिनुपर्ने बताए।

कार्यक्रममा संविधानको मर्म र भावनाअनुसार राष्ट्रिय एकता, लोकतन्त्र, सुशासन र सामाजिक न्यायलाई थप सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले पार्टीभित्रको पुनःगठन र रूपान्तरणबारे उठेका सवालहरूमा यही असोज ६ र ७ गते बस्ने केन्द्रीय कमिटी बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए। बाहिर चर्चा गरिएजस्तो पार्टीभित्र कुनै अन्तरकलह नरहेको दाबीसमेत उनले गरे।

समारोहमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेलसहित पदाधिकारीहरू, सांसदहरू, केन्द्रीय सदस्यहरू, जनप्रतिनिधिहरू, तथा विभिन्न जनसङ्गठनका प्रतिनिधि र नेता-कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

एमालेले प्रदेश, जिल्ला तथा पालिका कमिटीहरूलाई संविधान दिवसका अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गर्न पूर्ववत् निर्देशन दिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *