भारतीय उद्योगी-व्यवसायीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीहरूलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसरहरू रहेको बताएका छन्। भारत भ्रमणमा रहेका उनले नेपालमा रहेका लगानीका अवसरहरूलाई सदुपयोग गर्न त्यहाँका लगानीकर्ताहरूलाई आह्वान गरेको उनको सचिवालयले जनाएको छ।
नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) द्वारा आयोजित व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले उदीयमान लगानीका अवसरहरूमाथि प्रकाश पार्दै आर्थिक रूपान्तरणमा सहभागी हुन आग्रह गरे।
नेपालले उच्च वृद्धिको सम्भावना भएका क्षेत्रहरूमा लगानीका लागि ठूलो अवसर प्रदान गर्ने उल्लेख गर्दै उनले पहिले नै नेपालमा सञ्चालित भारतीय कम्पनीहरूलाई लगानी विस्तार गर्न र नयाँ लगानीकर्ताहरूलाई नेपाली बजारको खोजी गर्न अनुरोध गरे।
नेपाल सरकार सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण र संरचनात्मक आर्थिक रूपान्तरणको एजेन्डामा अघि बढिरहेको कुरामा उनले जोड दिए। नीतिगत सुधारलाई तीव्र बनाउनुका साथै अझ बढी अनुमानयोग्य, पारदर्शी र लगानीमैत्री व्यावसायिक वातावरण सिर्जना गर्न सरकार लागिपरेको उनले स्पष्ट पारे।
“सूचना प्रविधि, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, पर्यटन र उत्पादन साझेदारीको अवधारणामा आधारित उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका महत्त्वपूर्ण वाहकका रूपमा उदय भइरहेका छन्,” मन्त्री वाग्लेले भने, “भारतीय व्यवसायीहरूले नेपाललाई केवल बजारका रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि र क्षेत्रीय तथा विश्वव्यापी आपूर्ति शृङ्खलामा एकीकरणका लागि रणनीतिक साझेदारका रूपमा हेरुन् भन्ने हामी चाहन्छौँ।”
वार्षिक बजेट, कर सुधार र लगानीकर्तामैत्री नीतिगत पहलमार्फत नेपाल सरकारले हालै चालेका कदमहरू व्यावसायिक वातावरण सुधार गर्न, लगानीका बाधाहरू हटाउन र निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धिलाई सहज बनाउन लक्षित रहेको उनले बताए। नेपाल र भारतबीचको दीर्घकालीन आर्थिक सम्बन्धले द्विपक्षीय व्यापार र लगानी विस्तारका लागि बलियो आधार प्रदान गरेको धारणा उनले राखे।
उक्त अन्तरक्रिया कार्यक्रममा भारतीय व्यावसायिक नेताहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment