भोटेकोशी बाढी : काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

डिसी नेपाल
३ असोज २०८३ १८:०१

काभ्रेपलाञ्चोक । भोटेकोशीको बाढीमा तीन हप्तादेखि विभिन्न कामको सिलसिलामा त्यहाँ पुगेका काभ्रेपलाञ्चोकका ३७ नागरिक अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् । बेपत्ता तीन जनाको भने कुशको शव बनाएर संस्कारपूर्वक अन्त्येष्टि गरिएको छ ।

बाढीपछि हराइरहेका ३७ जिल्लाका नागरिक अहिलेसम्म परिवार तथा प्रशासनको सम्पर्कमा नआएको जिल्लास्थित प्रशासन कार्यालयको आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । बाढीपछि चौँरी देउराली गाउँपालिका–५ का हेमन्त चौलागाईं, प्रतीक गौतम, वडा नं ७ को सम्झना मोक्तान, चौँरी देउराली–२ घर भई हाल कलङ्की बस्ने राजेन्द्र प्रधान, पनौती नगरपालिका–५ का दिनेश श्रेष्ठ, वडा नं ३ का अच्युतम सापकोटा, वडा नं ९ का अर्जुन खत्री केसी सम्पर्कविहीन अवस्थामा रहेका छन्।

यस्तै, बनेपा–९ का उद्धव सापकोटा, वडा नं १० का बालकृष्ण रञ्जित, प्रह्लाद गिरी परिवारसँग सम्पर्कविहीन हुनु भएको जनाइएको छ । बनेपा–८ का एगेश श्रेष्ठ, आशिष गुभाजु, भोगेन्द्रकुमार खत्री, वडा नं १३ को प्रकृति डङ्गोल सम्पर्कमा आउनु भएको छैन । पाँचखाल–११ का मिलन खरेल, राजकुमार गौतम, वडा नं ३ का ज्ञानेन्द्रलाल श्रेष्ठ, भुम्लु–१ का महेश पन्त, मिलन श्रेष्ठ र प्रकाश श्रेष्ठ, वडा नं ५ का राजकुमार रिजाल, वडा नं ८ का सुवास तामाङ सम्पर्कविहीन बनेको केन्द्रले जनाएको छ ।

त्यस्तै, बाढीपछि बेथानचोक–४ का राजकुमार लोप्चन, रोजिना लोप्चन र आइते तामाङ, तेमाल–७ का विशाल तामाङ, वडा नं ८ का गणेश लामा, वडा नं ६ का सुमन तामाङ, सुजित तामाङ, डुप्साङ तामाङ, ज्ञानबहादुर राना मगर र मिलन तामाङ सम्पर्कविहीन भएका छन्।

मण्डनदेउपुर–२ का कुलबहादुर तामाङ, धुलिखेल–२ का सङ्गम चौलागाईं, सुकुमान तामाङ, वडा नं ३ का मनिक भुजेल, वडा नं ८ का महेश तामाङ हालसम्म सम्पर्कविहीन अवस्थामा रहेका छन्।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सम्पर्कविहीन नागरिकको खोजीका लागि स्थानीय प्रशासनले आवश्यक समन्वय र पहल गरिरहेको जानकारी दिए।

यसैबीच, तीन हप्ताभन्दा बढी समयसम्म कतै सम्पर्क तथा कुनै पत्ता नलागेपछि सम्पर्कविहीनमध्ये तीन जनाको परिवारले जीवित भेटिने आश मारेर कुशको शव बनाई परम्पराअनुसार दाहसंस्कार गरेका छन् । पाँचखाल–११ का राजकुमार गौतम तथा बनेपा–१० का बालकृष्ण रञ्जित र प्रह्लाद गिरीको कुशको शव बनाई परम्पराअनुसार दाहसंस्कार गरिएको हो । उक्त बाढीमा परी ज्यान गुमाएका पाँचखाल–६ का बस चालक दिलकुमार श्रेष्ठ र रोशी–९ का शङ्खबुद्ध तामाङको शव यसअघि नै फेला परिसकेको काभे्रपलाञ्चोक प्रशासनले जनाएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *