संविधान दिवसमा शीतल निवासमा विशेष समारोह (तस्बिर)

डिसी नेपाल
३ असोज २०८३ १८:०४

काठमाडौं। नेपालको संवैधानिक इतिहासमा जनप्रतिनिधिमार्फत जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ११ वर्ष पूरा भएको अवसरमा आज राष्ट्रपति निवास शीतलनिवासमा एक विशेष समारोह आयोजना गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको आयोजनामा सम्पन्न उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख डोलप्रसाद अर्याल, र प्रधानमन्त्री बालेन शाहलगायत राज्यका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। त्यसैगरी समारोहमा पूर्वप्रधानमन्त्रीहरू, सांसद, विभिन्न राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका प्रमुखहरूको पनि सहभागिता थियो।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संविधानलाई भाषणमा मात्र सीमित नराखी नागरिकको दैनिकी र जीवनमा उतार्ने संकल्प गर्न आह्वान गरे। “हामीले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने मात्र लोकतन्त्र बलियो हुन्छ,” राष्ट्रपति पौडेलले भने, “यसका लागि आउनुहोस्; आज हामी संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने संकल्प गरौँ।”

राजनीतिक परिवर्तनको अनुभूति नागरिकले गर्न पाउने गरी व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह हुनुपर्नेमा उनले जोड दिए। संविधान केवल कागजमा लेखिएका शब्द वा वाक्यहरूको सङ्ग्रह मात्र नभई यो नेपाली नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा भएको उनको भनाइ थियो।

आजको दिनलाई विपद्‌को पीडासँगै संविधान प्राप्तिको उत्सव र आत्मसमीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताउँदै राष्ट्रपति पौडेलले नेपाली जनताको सात दशक लामो आन्दोलन, त्याग र बलिदानको स्मरण गरे। उनले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै जेल, नेल, निर्वासन र यातना सहेर पनि अविचलित रहने लोकतन्त्रका योद्धाहरूप्रति सम्मान तथा आभार व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *