‘सेलिब्रेटी’ हात्ती ‘रोनाल्डो’ को अन्त्येष्टि, मृत्युको कारण बुझ्न पोस्टमार्टम

डिसी नेपाल
३ असोज २०८३ १७:१५

चितवन।  चितवन राष्ट्रिय निकुञ्जको सौराहा-खोरसोर क्षेत्रमा ‘सेलिब्रेटी’ हात्तीका रूपमा पहिचान बनाएको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ को मृत्यु भएको छ। करिब ५३ वर्षको उमेरमा मृत्यु भएको रोनाल्डोको धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ।

निकुञ्ज स्रोतका अनुसार रोनाल्डो बिसहजारी पोस्ट नजिकै मृत अवस्थामा फेला परेको थियो। पोस्टमार्टमका क्रममा हात्तीको मुखमा विद्युत्को तार बेरिएको भेटिएकाले सोही कारण मृत्यु भएको आशंका गरिएको छ। यद्यपि मृत्युको वास्तविक कारण भने विस्तृत अनुसन्धानपछि मात्रै यकिन हुने निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो।

निकुञ्ज प्रशासनले यस घटनालाई गम्भीर रूपमा लिँदै छानबिन अघि बढाएको छ। मृत हात्तीको तस्वीर तथा भिडियो खिच्न पत्रकारहरूलाई रोक लगाउन क्षेत्रमा सेना समेत परिचालन गरिएको थियो।

खोरसोरस्थित हात्ती प्रजनन् तथा तालिम केन्द्रसँग रोनाल्डोको लामो समयदेखि विशेष सम्बन्ध रहँदै आएको थियो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनका अनुसार उक्त केन्द्रमा जन्मिएका धेरै छावाका पिता रोनाल्डो नै हुन्। २०८३ असारसम्म केन्द्रमा जन्मिएका ६९ वटा छावामध्ये ३८ वटा रोनाल्डोकै सन्तान रहेको तथ्याङ्क छ।

फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको नामबाट नामकरण गरिएको यो हात्ती विशाल शरीर, फूर्तिलो चाल र अन्य भाले हात्तीसँग जुध्न सक्ने निडर स्वभावका कारण पर्यटक तथा स्थानीयमाझ निकै लोकप्रिय थियो। अन्य हात्तीसँगको जुधाइका क्रममा उसको शरीरमा विभिन्न चोटपटकका दागहरू थिए भने सोही संघर्षकै क्रममा उसले आफ्नो पुच्छर समेत गुमाएको थियो।

रोनाल्डोको निधनले सौराहा-खोरसोर क्षेत्रको एउटा ऐतिहासिक र चर्चित जंगली हात्तीको अध्याय अन्त्य भएको छ। घटनाको प्रकृति र विद्युत्को तारसँगको सम्बन्धबारे निकुञ्जको अनुसन्धानपछि आधिकारिक विवरण सार्वजनिक हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *