परराष्ट्रका उपप्रमुख सुवेदीलाई एनआरएनए कतारको स्वागत
दोहा (कतार)। परराष्ट्र मन्त्रालयको डायस्पोरा समन्वय महाशाखाका उपप्रमुख कृष्णकुमार सुवेदी (कृशु) लाई कतारमा नेपाली समुदाय तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले स्वागत एवं भेटघाट गरेको छ।
गैरआवासीय नेपाली संघको एसिया-प्यासिफिक सम्मेलनमा सहभागी भई आयरल्यान्डबाट फर्किने क्रममा ट्रान्जिटका लागि दोहा आइपुगेका सुवेदीको सम्मानमा सो कार्यक्रम आयोजना गरिएको हो।
हमाद इन्टरनेसनल विमानस्थलमा रहेको ट्रान्जिट समयको सदुपयोग गर्दै एनआरएनए कतारका अध्यक्ष कृष्ण पन्थीको समन्वयमा गोर्खाली रेस्टुरेन्टमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको थियो।
कतारस्थित नेपाली राजदूतावासमा लामो समय प्रथम सचिवका रूपमा जिम्मेवारी सम्हालिसकेका सुवेदीको त्यहाँको नेपाली समुदायसँग निकट सम्बन्ध रहँदै आएको छ। कतार बसाइका क्रममा उनले नेपाली समुदायका समस्या र सुख–दुःखमा महत्त्वपूर्ण सहजीकरण गरेको भन्दै सहभागीहरूले सुवेदीप्रति आभार एवं सम्मान व्यक्त गरे।
भेटघाटका क्रममा उपप्रमुख सुवेदीले परराष्ट्र मन्त्रालयमार्फत विदेशमा रहेका प्रवासी नेपालीका समस्या तथा कठिनाइ समाधानका लागि निरन्तर पहल भइरहेको बताए। उनले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै प्रवासीका सवाल र समस्याको गाँठो फुकाउने प्रयास भइरहेको उल्लेख गरे।
यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले गैरआवासीय नेपाली संघ तथा विदेशमा रहेका नेपाली समुदायको हितमा निरन्तर काम गरिरहेको जानकारी गराउँदै सुवेदीले त्यसको परिणाम देखिने गरी काम हुन केही समय लाग्ने भएकाले धैर्य र संयम अपनाउन आग्रह गरे।
सुवेदी बिहीबार राति कतारको समयअनुसार १२ बजेको उडानमार्फत चीनको ग्वान्जाउतर्फ प्रस्थान गरेका छन्। उनी त्यहाँ आयोजना हुने गैरआवासीय नेपाली संघसम्बन्धी सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment