टेक्ससका नेपाली समुदायद्वारा भोटेकोशी बाढीपीडितलाई दुई करोड १५ लाख रुपैयाँभन्दा बढी सहयोग

डिसी नेपाल
२ असोज २०८३ ९:३४

टेक्सस, अमेरिका। अमेरिकाको टेक्ससमा बसोबास गर्दै आएका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्जागरण एवम् पुनःस्थापनाका लागि दुई करोड १५ लाख १७ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन्।

ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासका अनुसार विभिन्न सामाजिक संघ-संस्था तथा स्थानीय नेपाली समाजको संयुक्त पहलमा उक्त रकम संकलन गरी सहयोग गरिएको हो। संकलित रकममध्ये लामा फाउन्डेसन, बेडफोर्डले एक करोड सात लाख रुपैयाँ तथा इन्डिया बजार, फोर्टवर्थले ३८ लाख १७ हजार रुपैयाँ प्रदान गरेका छन्।

त्यसैगरी वन स्टेप फाउन्डेसनले २५ लाख, अभान्ट फाउन्डेसनले १५ लाख, पाल्पाली संगम अमेरिकाले १५ लाख र नुवाकोट पिकनिक ग्रुप टेक्ससले १५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्।

यसैबीच, नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्ना १८ वटा च्याप्टरहरूबाट संकलन गरिएको ६६ हजार १९५.८८ अमेरिकी डलर नेपाली कांग्रेसको विपद् न्यूनीकरण कोषमार्फत नेपाल सरकारलाई छुट्टै पठाएको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणको कार्यलाई तीव्रता दिन मातृभूमिको दुःखमा मल्हम लगाउने उद्देश्यले यो सहयोग संकलन गरी पठाइएको संस्थाले बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *