विधान मिचेर गरिने महाधिवेशन मान्य हुँदैन, विधिको शासनका लागि सम्झौता गर्दैनौं: प्रकाशमान सिंह

डिसी नेपाल
२ असोज २०८३ १०:४२

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र स्थापित परम्परालाई लत्याएर गरिने कुनै पनि गतिविधि आफूहरूलाई मान्य नहुने स्पष्ट पारेका छन्।

२९ औँ गणेशमान सिंह स्मृति दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीभित्र विधिको शासन र आन्तरिक लोकतन्त्रलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै कडा आपत्ति जनाएका छन्।

पार्टीभित्र देखिएको पछिल्लो विवाद र आगामी महाधिवेशनका सन्दर्भमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले नेपाली कांग्रेस सधैँ विधान र संविधानको दायराभित्रै रहेर अघि बढ्नुपर्नेमा विशेष जोड दिए। १४ औँ महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिले नै पूर्ण रूपमा विधिसम्मत तवरले १५ औँ महाधिवेशन सम्पन्न गराउनुपर्ने उनको अडान छ।

‘नेपाली कांग्रेस पार्टी मुलुकमा विधिको शासन स्थापित गर्नका लागि जन्मिएको संस्था हो, तर स्वयम् पार्टीभित्रै विधिको शासनलाई तोडमोड गर्दा हामी चुप लागेर बस्न सक्दैनौँ,’ नेता सिंहले भने, ‘पार्टीको विधानलाई मिचेर जबर्जस्ती विशेष महाधिवेशनतर्फ अघि बढ्न खोज्नु सरासर गलत हो। यस्ता अलोकतान्त्रिक अभ्यासले पार्टीभित्र अधिनायकवादलाई प्रश्रय दिन्छ।’

केही नेताहरूले आफ्नो राजनीतिक धार परिवर्तन गरेको विषयमा टिप्पणी गर्दै उनले इतिहासमा पनि समय-समयमा यस्ता विचलनहरू देखिने गरेको स्मरण गराए।

वि.सं. २०१७ सालको शाही ‘कू’ पछि कतिपय नेताहरू व्यक्तिगत सुविधा र पदको लोभमा पञ्चायत प्रवेश गरे पनि बीपी कोइराला, गणेशमान सिंहलगायतका शीर्ष नेताहरूले सिद्धान्त र निष्ठाको राजनीति कहिल्यै नछाडेको उनले उल्लेख गरे।

निष्ठाको राजनीति भाषणमा भन्न जति सजिलो छ, व्यवहारमा उतार्न त्यति नै कठिन हुने भन्दै आफूहरू पार्टीका मूलभूत सिद्धान्तमा कहिल्यै सम्झौता नगर्ने उनले दोहोर्‍याए।

अदालतमा दायर भएको रिट खारेज भएको प्रसंगमा बोल्दै उनले कानुनी र राजनीतिक मुद्दाहरू फरक हुने बताए।

‘हामी स्वतन्त्र न्यायपालिकाको निर्णयलाई सधैं सम्मान गर्छौं, तर राजनीतिक एजेन्डाको अन्तिम फैसला पार्टीले नै गर्ने हो,’ उनले स्पष्ट पार्दै भने, ‘पार्टी विधानअनुसार चार वर्ष र विशेष परिस्थिति उत्पन्न भएमा एक वर्ष थप गरी पाँच वर्ष तथा देशको संविधानअनुसार साढे पाँच वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने स्पष्ट व्यवस्था छ। हामी यही संवैधानिक र वैधानिक व्यवस्थाअनुसार नै अघि बढ्छौँ, महाधिवेशन कुनै हालतमा रोकिँदैन।’

यसअघि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता सिंहले लौहपुरुष गणेशमान सिंहको जन्मस्थानका विषयमा सञ्चारमाध्यमहरूमा केही भ्रम रहेको भन्दै त्यसलाई सच्याउन आग्रह गरे।

गणेशमान सिंहको जन्म क्षेत्रपाटी चाक्सीबारीमा नभई येँखास्थित घरमा भएको र चाक्सीबारीको घर भने २००९ सालमा खरिद गरेर पछि मात्रै परिवार त्यहाँ सरेको जानकारी उनले दिए।

गणेशमान सिंहले देश र जनताको अधिकार प्राप्तिका लागि आफ्नो ६ दशक लामो राजनीतिक यात्रामा ३० वर्षभन्दा बढी समय जेल र निर्वासनमा बिताएको तथा २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल भएपछि राजाले प्रस्ताव गरेको प्रधानमन्त्री पदसमेत सहजै त्याग गरेर कृष्णप्रसाद भट्टराईलाई सिफारिस गरेको त्यागपूर्ण इतिहासबाट नयाँ पुस्ताले प्रेरणा र पाठ सिक्नुपर्ने नेता सिंहको भनाइ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *