युरोपमा बस्ने र काम गर्ने कार्नीको योजनापछि क्यानेडियनहरूले देखे युरोपको सपना
बीबीसी। टोरन्टोकी यात्रु मिरियम लेभिन-गोल्डलाई व्यापार ब्लकसँगको घनिष्ठ सम्बन्ध प्रस्तावअन्तर्गत युरोपेली युनियनमा बस्न र काम गर्न पाउने प्रधानमन्त्री मार्क कार्नीको अवधारणा निकै मन परेको छ।
“युवाहरूका लागि विश्वका विभिन्न भागहरू घुम्ने, फरक-फरक ठाउँमा काम गर्ने र नयाँ अनुभवहरू बटुल्ने यो एउटा उत्कृष्ट अवसर हो जस्तो मलाई लाग्छ,” उनले टोरन्टोमा बीबीसीसँग भनिन्।
कार्नीले बिहीबार बिहान स्ट्रासबर्गस्थित युरोपेली संसद्मा दिएको सम्बोधनको समाचारसँगै क्यानेडियनहरूको बिहानी भयो। सम्बोधनका क्रममा प्रधानमन्त्री कार्नीले रक्षा र ऊर्जा क्षेत्रमा अझ नजिकको सहकार्यका लागि आह्वान गर्दै क्यानडालाई आफ्नो पहिलो “सहयोगी सदस्य” (Associate Member) बनाउने ईयूको आकांक्षाको स्वागत गरे।
“हामीले अटलान्टिकको दुवैतर्फका हाम्रा युवाहरूलाई आफूले चाहेको ठाउँमा बस्न, काम गर्न र अध्ययन गर्न दिँदै मानिस-मानिसबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्छ,” प्रधानमन्त्रीले भने।
उनले क्यानडा ईयूको बहु-अर्ब डलरको छात्रवृत्ति कार्यक्रम ‘इरास्मस+’ (Erasmus+) मा सहभागी हुन सक्ने सुझाव पनि दिए।
कार्नीले युरोपेली सांसदहरू लाई “भूराजनीतिक संकट” को सामना गर्न क्यानडा र युरोप “सँगै हुँदा अझ बलियो” हुने बताए।
तर, क्यानेडियनहरूले आफ्नो झोला प्याक गर्न थाल्नुअघि एउटा कुरा ध्यान दिनुपर्छ-ईयूभित्र हाल “सहयोगी सदस्य” को कुनै प्रावधान छैन। सबै २७ ईयू सदस्य राष्ट्रहरूले यस्तो व्यवस्थालाई स्वीकृति दिनुपर्ने भएकाले यसलाई कार्यान्वयनमा ल्याउन वर्षौँ लाग्न सक्छ।
यद्यपि, कार्नीको सम्बोधनको खबर फैलिएसँगै बीबीसीले कुरा गरेका मानिसहरू ईयूमा काम गर्ने र अध्ययन गर्ने सम्भावित अवसरलाई लिएर उत्साहित थिए।
मोन्ट्रियलका एलेक्स नाशले निकट सम्बन्धले वर्क भिसा र परमिटका बाधाहरू हटाउने बताइन्।
“यो सहज र थप सुविधाजनक हुन सकेमा र अझ सजिलै भ्रमण गर्न पाएमा पक्कै पनि निकै राम्रो हुनेछ,” उनले भनिन्।
यसै विषयलाई लिएर क्यानेडियन सामाजिक सञ्जालहरू तातिएका छन्।
‘अ क्यानेडियन आउटलुक’ नामक फेसबुक ग्रुपमा एकजनाले आफ्ना नातिनातिनाले सस्तो दरमा युरोपेली विश्वविद्यालयहरूमा पढ्न पाउने अवसरको आशा राखेका छन्। अर्की एक महिलाले फ्रान्समा रहेको आफ्नो घरमा जान यसले धेरै सजिलो बनाउने बताइन्।
हिउँदको समयमा न्यानो ठाउँतर्फ लाग्ने क्यानेडियनहरूलाई संकेत गर्दै अर्का एक व्यक्तिले भने, “स्नो बर्ड्सहरूले यसलाई निकै मन पराउनेछन्।”
यी अभिव्यक्तिहरूले अमेरिकासँगको द्विपक्षीय तनावप्रति क्यानडामा रहेको असन्तुष्टिलाई संकेत गर्छन्।
क्यानडामा हुर्कँदा डेभिड जार्डिनले अमेरिकालाई छिमेकी मात्र नभई संस्कृति र शैलीको मुख्य केन्द्रका रूपमा सोच्ने गर्थे।
“मलाई सधैँ न्युयोर्क घुम्न जाने इच्छा भएको सम्झना छ,” टोरन्टोको प्रतिष्ठित सीएन टावर नजिकै आफ्नो रात्रिकालीन सिफ्ट सकेपछि उनले बीबीसीसँग भने।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यानडासँगको व्यापार युद्ध र विलय (अनेक्सेसन) सम्बन्धी बयानबाजीका कारण उनी धेरै सशङ्कित बनेका छन्।
“अहिलेका दिनहरूमा स्थिति जस्तो छ, त्यसलाई हेर्दा युरोपसँग नजिकको सम्बन्ध गाँस्नु बढी तर्कसङ्गत मात्र होइन, म अमेरिकाभन्दा युरोपसँग जोडिन बढी रुचाउँछु,” उनले भने।
टोरन्टोको सेन्ट लरेन्स मार्केट क्षेत्रमा रहेको स्थानीय पब ‘से वाट’ (C’est What) की प्रबन्धक म्यागी स्टेन्टन क्यानडा र अमेरिकाबीचको बिग्रँदो सम्बन्धबारे बोल्दा भावुक भइन्।
“संयुक्त राज्य अमेरिकासँगको सम्बन्ध अति नै अस्थिर छ,” उनले भनिन्। “मलाई लाग्छ युरोपमा केही स्थायित्व छ।”
दशकौँदेखि अमेरिका सांस्कृतिक आकर्षणको केन्द्र रहँदै आएको छ, जहाँ धेरै क्यानेडियन कलाकारहरू हलिउडमा काम गर्छन् र क्यानेडियन रेडियो स्टेसनहरूमा अमेरिकी सङ्गीत बज्छ।
“हामीमाझ परेको प्रभावका कारण हामी आफूलाई बढी अमेरिकी महसुस गर्न बाध्य छौँ जस्तो मलाई लाग्छ,” स्टेन्टनले थपिन्। “तथापि, गहिरिएर हेर्ने हो भने म मेरा विचार र आदर्शहरूमा निश्चित रूपमा युरोपेली भावनातिर बढी ढल्केकी छु।”
क्यानडाको सबैभन्दा ठूलो सहरको केन्द्र भागमा बीबीसीले कुरा गरेका धेरै मानिसहरूले यस्तै विचार व्यक्त गरे।
क्यानडा र ब्रिटेनका केन्द्रीय बैंकहरूको नेतृत्व सम्हालिसकेका कार्नी ट्रम्पविरुद्ध कडा अडान लिने मात्र नभई क्यानडाको आर्थिक दायरालाई फराकिलो बनाउने बाचाका साथ निर्वाचित भएका थिए।
क्यानडाको ७२ प्रतिशतसम्म निर्यात अमेरिकामा हुने गर्छ, र जारी व्यापार तनावले ओटावालाई अन्य राष्ट्रहरूसँग गहिरो सम्बन्ध बनाउन प्रेरित गरेको छ।
धेरै अर्थमा युरोपेली युनियन क्यानडाका लागि स्वाभाविक विकल्प देखिन्छ। सन् २०२१ मा भएको पछिल्लो जनगणना अनुसार क्यानडाको आधाभन्दा बढी जनसङ्ख्याले आफू युरोपेली मूलको भएको बताएका थिए।
कार्नीको सम्बोधनअघि ‘एबाकस डाटा’ले गरेको एक हालैको सर्भेक्षणअनुसार ८० प्रतिशत क्यानेडियनहरूले देशले ईयूसँगको रणनीतिक सहकार्यलाई गहिरो बनाउनुपर्ने बताएका छन् भने आधाभन्दा बढीले अमेरिकाभन्दा युरोपसँग बढी निकटता महसुस गर्छन्।
तथापि, ईयूसँगको बृहत्तर सम्बन्धका लागि कार्नीका प्रस्तावित योजनाहरूको विस्तृत विवरण भने अझै अस्पष्ट छ।
प्रतिपक्षी कन्जर्भेटिभ पार्टीका दुई सांसदहरूले उनलाई र ईयूलाई के-कस्ता विषयमा काम गर्ने योजना छ भन्नेबारे स्पष्ट पार्न आग्रह गरेका छन्।
“यो एउटा ठोस र अर्थपूर्ण प्रस्ताव हुन सक्छ, वा यो केवल शब्द र भावना मात्र पनि हुन सक्छ,” बिहीबार कार्नीको सम्बोधनको पूर्वसन्ध्यामा बीबीसीसँगको अन्तर्वार्तामा ओन्टारियोको सिम्को नर्थका सांसद एडम च्याम्बर्सले भने।
च्याम्बर्सले ईयू र क्यानडाबीच विद्यमान समग्र आर्थिक तथा व्यापार सम्झौतालाई उद्धृत गर्दै यसलाई अझै धेरै ईयू राष्ट्रहरूले अनुमोदन गर्न बाँकी रहेको उल्लेख गरे।
युरोपसँग सम्बन्ध गहिरो बनाउने कुरालाई धेरै क्यानेडियनहरूले स्वागत गरे तापनि अमेरिकासँगको सम्बन्ध- जतिसुकै तनावपूर्ण भए पनि- भत्किनु हुँदैन भन्ने भावना अझै कायम छ।
“म यहीँ हुर्केको हुँ। म क्यानडाको ओन्टारियोमा बसेको ४० वर्ष भयो र अमेरिका सधैँ छिमेकी रहँदै आएको छ,” अहमद खलिल भन्छन्।
युरोपसँग सम्बन्धको पुल निर्माण गर्नु तर्कसंकत रहेको बताउँदै उनले भने: “मलाई लाग्छ यसले क्यानडामा थप पैसा र संस्कृति भित्र्याउँछ, युरोपेलीहरूलाई यसतर्फ आकर्षित गर्छ र सम्भवतः धेरै समस्याहरू समाधान गर्छ।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment