इरानमा अमेरिकी हवाई हमलाबाट १७७ सर्वसाधारणको मृत्यु
युद्ध अपराधको पर्याप्त आधार रहेको राष्ट्रसंघीय प्रतिवेदनको निष्कर्ष
काठमाडौं। संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले इरानमा भएका दुईवटा अमेरिकी हवाई हमलामा कम्तीमा १७७ जना सर्वसाधारणको ज्यान गएको र ती घटनामा अमेरिकाले युद्ध अपराध गरेको विश्वास गर्ने पर्याप्त आधार रहेको बताएका छन्।
इरानसम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य पत्ता लगाउने मिसन (आईआईएफएफएम) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार फेब्रुअरी २८ मा मिनाबस्थित एउटा प्राथमिक विद्यालय र लमेर्दस्थित खेलकुद परिसरमा क्षेप्यास्त्र हमलाहरू भएका थिए।
ती हमला सर्वसाधारणलाई सीधा लक्षित गरी नगरिएको भए पनि अन्धाधुन्ध प्रहार गरिएको र त्यसबाट ठूलो सङ्ख्यामा सर्वसाधारणको मृत्यु हुनाका साथै नागरिक पूर्वाधारमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
दक्षिणी सहर मिनाबस्थित ‘शाजारे ताएबे’ प्राथमिक विद्यालयमा टोमाहक क्षेप्यास्त्र प्रहार हुँदा कम्तीमा १५६ जनाको मृत्यु भएको थियो, जसमा १२० जना बालबालिका थिए।
यो विद्यालय इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को नौसैनिक परिसरनजिकै भए पनि स्पष्ट रूपमा पहिचान गर्न सकिने अवस्थामा रहेको र सैन्य प्रयोजनमा प्रयोग नभएको विज्ञहरूले जनाएका छन्।
टोमाहोक क्षेप्यास्त्र अमेरिकासँग मात्र रहेको र सङ्कलित प्रमाणका आधारमा यसको जिम्मेवार अमेरिका नै रहेको मिसनको निष्कर्ष छ।
त्यसैगरी, सोही दिन लमेर्द सहरको खेलकुद परिसर र आवासीय क्षेत्रमा प्रिसिजन स्ट्राइक मिसाइलमार्फत टंग्स्टनका छर्राहरू प्रहार गर्दा ७ जना बालबालिकासहित कम्तीमा २१ जना सर्वसाधारणको ज्यान गएको थियो।
यस विषयमा अमेरिकी विदेशमन्त्रालयका अधिकारीले प्रतिवेदनका निष्कर्षलाई विश्वसनीय नमान्ने बताएका छन्। अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले अमेरिकी सेनाले कहिल्यै पनि सर्वसाधारणका संरचनालाई निशाना नबनाउने दाबी गर्दै मिनाब घटनाबारे अनुसन्धान भइरहेको र लमेर्दमा हमला गरिएको कुरालाई अस्वीकार गरेका छन्।
संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा पेस गरिएको उक्त प्रतिवेदनमा ज्यानुअरीमा भएका व्यापक सरकारविरोधी प्रदर्शनमाथि इरानी सुरक्षा फौजले गरेको दमनका क्रममा मानवताविरुद्धको अपराध भएकोसमेत उल्लेख छ।
देशका सबै ३१ प्रान्तमा भएको यो हत्या स्तब्ध पार्ने खालको रहेको प्रतिवेदनको ठहर छ। इरानले भने यी आरोपहरूबारे आधिकारिक प्रतिक्रिया दिएको छैन।
अमेरिकी र इरानी अधिकारीहरूबीच कूटनीतिक प्रयासहरू र शान्तिवार्ताका शृङ्खलाहरू चले पनि ती निष्कर्षविहीन बनेका छन्। तेहरानले सम्झौताहरूलाई आफ्नो जितका रूपमा प्रस्तुत गरिरहँदा इरानमाथिको कडा अमेरिकी नीति र सैन्य हस्तक्षेपका कारण क्षेत्रीय तनाव थप जटिल मोडमा पुगेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment