सी-ट्रम्प भेटवार्ता: अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच एआई प्रमुख मुद्दा बन्ने

डिसी नेपाल
१ असोज २०८३ १३:४१

काठमाडौं। आगामी साता हुन गइरहेको चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको भेटवार्तामा कृत्रिम बौद्धिकता (एआई) दुई देशबीचको मुख्य चासो र छलफलको विषय बन्ने भएको छ।

एआई प्रविधिको विकास, अत्याधुनिक सेमीकन्डक्टर चिप्समाथिको पहुँच र यसको सुरक्षा मापदण्डलाई लिएर विश्वका दुई ठूला अर्थतन्त्रबीच तीव्र प्रतिस्पर्धा र मतभेद कायम छ।

हाल अमेरिका र चीन एआई प्रविधिको क्षेत्रमा विश्वकै प्रमुख नेतृत्वदायी शक्तिका रूपमा स्थापित छन्। चीनका ‘डिपसिक’ र ‘मुनसट एआई’ जस्ता कम्पनीका खुला मोडेलहरूले अमेरिकी ‘ओपनएआई’ र ‘एन्थ्रोपिक’का उन्नत प्रणालीहरूलाई कडा टक्कर दिन थालेका छन्।

चीनको एआई क्षमता विस्तारलाई रोक्न अमेरिकाले अत्याधुनिक चिप्स निर्यातमा कडाइ गर्दै आए पनि ट्रम्प प्रशासनले केही प्रविधिमा नियम खुकुलो पार्दै अन्य संवेदनशील क्षेत्रमा भने प्रतिबन्ध यथावत् राखेको छ।

एआईको तीव्र विकाससँगै यसको सुरक्षा र विश्वव्यापी नियमनबारे चिन्ता बढ्दै गएको छ। अमेरिकाभित्र चीनसँगको प्रतिस्पर्धाका कारण एआई विकासको गति सुस्त बनाउन नहुने मत बलियो बन्दै गएको छ भने चीनले पनि यसलाई प्रमुख भू-राजनीतिक प्रतिस्पर्धाको क्षेत्रका रूपमा प्राथमिकता दिएको छ।

दुई नेताबीचको आगामी भेटमा एआईसम्बन्धी सीमित सहकार्यको ढोका खुले पनि प्रविधिको गति नियन्त्रण गर्ने वा साझा विश्वव्यापी सुरक्षा मापदण्ड बनाउने विषयमा सहमति जुट्न कठिन हुने विश्लेषकहरूको भनाइ छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले एआई क्षेत्रका दुई शीर्ष शक्ति भएकाले जोखिम न्यूनीकरण र प्राविधिक सुरक्षाका उपाय तय गर्न अमेरिका र चीनबीच निरन्तर संवाद आवश्यक रहेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *