प्रतिनिधिसभा बैठक: विपद् व्यवस्थापन र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौं। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूले विपद् व्यवस्थापन, बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव, दुर्गम क्षेत्रको स्वास्थ्य अवस्था र पूर्वाधार निर्माणका विषयलाई लिएर सरकारको कडा ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले रसुवा विपद्का लागि वैदेशिक सहायता स्वरूप आएका राहत सामग्रीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा थन्किएको भन्दै आपत्ति जनाए।
विमानस्थलको स्थलगत अवलोकनपछि संसद्मा बोल्दै उनले भन्सार र प्रक्रियागत झन्झटका कारण लत्ताकपडालगायतका सहायता सामग्री सम्बन्धित पीडितसम्म पुग्न नसकेको बताए। उनले माग नआएको बहानामा राहत सामग्री खेर जान नदिन र रसुवालगायत प्रभावित क्षेत्रमा तत्काल आपूर्ति मिलाउन सरकारसँग माग गरे।
यसैगरी, रास्वपाकै अर्का सांसद बोधनारायण श्रेष्ठले रसुवा बाढीमा पुरिएका निजी घर, सार्वजनिक भवन, विद्यालय, स्वास्थ्य संस्था तथा पुरातात्विक संरचनाहरूको उत्खननका लागि तत्काल एकीकृत योजना बनाउन माग गरे।
त्रिशूली क्षेत्रका स्थानीयहरूले पुरिएका घरभित्र आफ्ना आफन्तको शव रहेको भन्दै उत्खननका लागि गुहार गरिरहेको उल्लेख गर्दै उनले गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सरकार र निजी क्षेत्रको सहकार्यमा उत्खननको काम अघि बढाउन सुझाव दिए।
यता नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा खाना पकाउने ग्यासको तीव्र अभाव र महँगी बढेको भन्दै सरकारसँग जवाफ माग गरिन्।
ग्यास नपाएर सर्वसाधारण भोकमरीको अवस्थामा पुग्न लागेको भन्दै उनले बजारको वास्तविक अवस्थाबारे एक साताभित्र संसद्मा जानकारी गराउन सभामुखमार्फत सरकारलाई निर्देशन दिन आग्रह गरिन्। साथै, ग्यास अभावको विषयलाई लिएर एमालेमाथि लगाइएका भ्रामक आरोप र समाचारहरूप्रति समेत उनले कडा आपत्ति जनाइन्।
नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय भेन्डर तथा बाढीपीडितका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए।
स्थानीय भेन्डरहरूले आयोजना स्थलमा सवारी र कर्मचारी प्रवेशमा रोक लगाउने गरी आन्दोलन घोषणा गरेकाले काठमाडौंमा पानी पथान्तरण प्रभावित हुन सक्नेतर्फ सचेत गराउँदै उनले विगतका सहमति कार्यान्वयन गर्न, बक्यौता भुक्तानी गर्न र तटीय क्षेत्रको सडक निर्माणका लागि बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन माग गरे।
नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकहरूको चरम अभाव हुँदा विपन्न नागरिकहरू उपचारबाट वञ्चित हुनुपरेको बताए।
अस्पतालमा दुई वर्षअघि क्याथ ल्याब जडान गरिए पनि कार्डियोलोजिस्ट नभएको तथा न्युरोलोजिस्ट र युरोलोजिस्टको अभावमा ९० प्रतिशत बिरामीलाई काठमाडौं वा लुम्बिनी रिफर गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको उनको भनाइ थियो।
उनले अस्पतालमा तत्काल विशेषज्ञ डाक्टरहरूको दरबन्दी पूर्ति गर्न र बिग्रिरहने डायलासिस मेसिनको नियमित मर्मतको व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment