एनआरएनए अमेरिकाको २५ डलर सहयोग !

डिसी नेपाल
३ वैशाख २०७७ १५:४९

वाशिंटन।  एनआरएनए अमेरिकाले समस्यामा परेका विद्यार्थीहरुका लागि राहत दिने भनेर टास्क फोर्स बनायो। शुरुमा त्यो टाक्स फोर्समार्फत फर्म भरेर आएका विद्यार्थीलाई ग्रोसरी लगायतको सामान एक महिनालाई पुग्ने गरी ३०० डलर दिने अनौपचारिक सहमति गरे।

त्यसपछि दिनका दिन राहत दिने र विद्यार्थीहरुको उद्दार गर्ने भनेर व्यापक प्रचारबाजी गरियो । एक हिसावले प्रचारवाजीमा तछाडमछाड नै भयो । टेक्सास, न्यूयोर्क, मेरिल्याण्ड ,भर्जिनियासहित बिभिन्न राज्यमा रहेका एनआरएनएका केही नेताहरुले ठूलो मानवीय सहयोग गर्ने गरी प्रचार गरे, दिनका दिन फेसबुके लाईभमा देखा परे।

अमेरिकामा छोराछोरी पढ्दै गरेका र हाल उनीहरुको चिन्तामा रहेका मातापिता पनि शायद यो प्रचारपछि खुसी देखिएका थिए होलान। तर व्यहारमा के भयो ? व्यवहारमा भने एकजना विद्यार्थीलाई २५ डलरको सामान दिइयो। भर्जिनियामा रहेका एक विद्यार्थीले डिसी नेपालसँग भने, ‘पहिला हामीलाई साथीहरु र सामाजिक अभियन्ताहरुले तीन सय दिने भनेर फर्म भर्न लगाए, हामीले फर्म पनि भऱ्यौं तर पछि त तिमीहरु नजिकैको ग्रोसरी स्टोरमा गएर सामान खरीद गर हामी पैसा तिर्छौं भनेर पठाइयो। पसल पुगेपछि भनियो त्यहाँ पुगेपछि ५० डलरले दुईजनालाई सामान किन्नू।’

ती विद्यार्थीको गुनासो थियो हामीले एक प्याकेट चामल, चिकेन र एउटा सब्जी किन्दा ५४ डलर खर्च भयो त्यसमा एनआरएनकाले ५० डलर दिए हामी चार डलर आफैंले थप्नु पऱ्यो । अर्का एक विद्यार्थीले भने आफूले फर्म भरेर पनि सहयोग अस्वीकार गरेको बताए।

उनले भने, “हामीहरुलाई फर्म भरेपछि एनआरएनका विभिन्न व्यक्तिहरुले फोन गरेर सहयोग गर्छौ भने तर मैले २५–५० डलर लिएर जात फाल्नु गहतको झोलमा भनेर लिन अस्वीकार गरे ।”

एनआरएनए धनीको क्लव भनेर छाती पिटे पनि अमेरिकामा विद्यार्थीहरुलाई गरिएको सहयोगले नेपालमाजस्तो एक प्याकेट चाउचाउको भरमा फोटो र भिडियो खिचेर आफू निकटका मिडियामा छपाएजस्तै मानसिकता यहा पनि देखियो।

एनआरएनएका जिम्मेवार पदाधिकारीहरुको भनाइअनुसार सबै ३ सय नै होइन अधिकतम तीनसय सहयोग गर्ने भनेको हो। तर विद्यार्थीले सवैलाई तीनसय भन्ने बुझेका हुन्। तर स्मरणीय के छ भने अहिलेसम्म यसरी राहत लिनका लागि भनेर २० जना विद्यार्थीेले पनि फर्म भरेका छैनन्।

न्यूयोर्कवाट एक सामाजिक अभियन्ताको भनाइअनुसार, कोभिड १९ ले मृत्यु भएपछि उनीहरुको पारिवारिक अवस्था आर्थिकरुपमा कमजोर भएमा अन्तिम संस्कारको लागि भनेर आफूहरुले १३ सय देखि १५ सय दिनका लागि भनेको तर एनआरएनएले ३०० डलरभन्दा दिन नसक्ने भन्यो । एनआरएनएले अहिले हरेक च्याप्टरमा अनेकन समिति, विद्यार्थीको लागि अलग्गै समितिलगायत दर्जनौं समिति बनाएर पदधारीहरुको हुल सृजना गर्ने रणनीति लिएको छ।

तर उसँग यसको लागि आवश्यक सहयोग गर्ने वजेट भने छैन। गत मार्च २३ मा बसेको बैठकले कोभिड १९ को प्रभावका कारणले अत्यन्त जटिल आर्थिक अवस्था भएका र अमेरिकामा अध्ययनरत विद्यार्थीहरुलाई बढीमा ३०० डलर बराबरको अति आवश्यक सामाग्री प्रदान गरिने छ भनेर प्रेस विज्ञप्ति निकालिएको थियो।

एनआरएनका एक पदाधिकारीले आफनो नाम उल्लेख नगर्ने शर्तमा भने, “हामीहरुसँग त्यति ठूलो वजेट नै छैन दशौं हजार विद्यार्थीलाई जनही ३०० डलर दिन सकिदैंन।”

गरिव एनआरएनएका धनी गफ

मिजौरीमा स्नातक तहमा पढदै गरेका एक विद्यार्थीले भने, ‘एनआरएनए भनेको धनीहरुको क्लव भनेर सुनेको थिए , तर यिनीहरु त गरिव एनआरएनका धनी गफ पो रहेछन।” हुन पनि अमेरिकामा एक जना व्यक्तिको लागि साप्ताहिक रुपमा २५ डलरको ग्रोसरी निकै कम हो, यदि मिलेर मेसमा खाने नै गरेका रहेछन् भने पनि उनीहरुको खर्च एक महिनामा करिव २०० देखि ३०० हुन्छ।

अमेरिकामा लक डाउन भएको ३ हप्ताभन्दा वढी भयो यदि एनआरएनले विद्यार्थीलाई सहयोग गर्न खोजेको भए मासिक न्यूनतक १५० देखि २०० दिन पर्ने देखिन्छ। तर काम एक डलरको गरेर सय डलरको हल्ला गरेको जस्तो मात्रै भएको छ एनआरएनएको विद्यार्थीलाई सहयोग ।

समाजसेवाको नाममा तछाड मछाड गरेझैं देखिने एनआरएनए अमेरिकाले कोभिड १९ को लागि सहयोग गर्न भन्दै फण्ड संकलन गर्न गो फण्डमा एक कोष सञ्चालन गरेको छ , यो कोषमा यो विश्लेषण तयार पार्दा सम्म १३ हजार ५०६ डलर संकलन भएको छ ।

नेपालमा चुनाव हुदा २० देखि ५० हजार डलरसम्म खर्च गर्न सक्ने एनआरएनका अभियन्ताहरुले यो कोषमा दिएको रकम हेर्ने हो भने उनीहरुको समाजप्रतिको प्रतिबद्धता उदांगो हुन्छ । अर्को नौटंकी के पनि देख्न पाइएको छ भने एनआरएन एनसीसीले गो फण्डमा रकम संकलन गरिरहेको छ भने यही एनआरएनएकै अभियन्ताका हैसियतमा अर्काे खाता पनि खुलेको छ ।

एनसीसीकी महिला उपाध्यक्ष वन्न सफल भएकी रविना थापाले आफू एक्लै सहभागी भएर गो फण्डमा एकाउण्ट खोलेकी छन् । उनको गो फण्ड एकाउन्टमा ३ हजार ९ सय १८ डलर संकलन भएको छ भने यसमा सहयोग गर्नेहरु अमेरिका भन्दा वाहिरका धेरै रहेका छन् । थापाको खातामा बेलायतबासीको सहयोग पनि देखिएको छ ।

सहयोग प्राप्त हुनु र त्यसको सदुपयोग हुनु निकै राम्रो कुरा भए पनि अहिले बेलायतमै नेपालीको दुखद निधन भइरहेको अवस्थामा त्यहींका संघसंस्थामार्फत नेपालीलाई सहयोग हुन सकेको भए राम्रो देखिन्थ्यो । भनिन्छ, दुख को वेला मित्रवत सहयोग अतुलनीय हुन्छ तर तै रानी मै रानी कसले भर्ने मूलको पानी भने जसरी एनआरएनएको गतिविधि हुनु दुखद छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *