मिटरव्याजी यादव पौने दुई करोड धरौटीमा रिहा
काठमाडौं । सर्लाहीका किसानलाई मिटरव्याजमा पैसा उठाएको आरोपमा थुनामा रहेका रामबाबु राय यादव धरौटीमा रिहा भएका छन् । मिटरब्याजीमा पैसा उठाएको र अपराध गरेर सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पक्राउ परेका सर्लाहीका यादव १ करोड ७५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को हिरासतमा रहेका तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य यादव धरौटी बुझाएर बैशाख १२ गते छुटेको सिआइवीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । सम्पत्ति शुद्धिकरण मुद्दामा सीआइबीको हिरासतमा रहेका यादवलाई १ करोड ७५ लाख रुपैयाँ बराबरको जायजेथा धरौटी माग भएको थियो।
कोरोना महामारीपछि थुनामा नराख्ने नीतिअनुसार विभागले उनीलाई धरौटी माग गरेको थियो। सर्लाहीकै जग्गाजमिन धितो राखेर उनलाई छाडिएको प्रहरीले जनाएको छ ।
प्रहरीले यादवलाई मिटरब्याज अभियोगमा २०७६ पुस २३ गते सर्लाहीको हरिपुरबाट पक्राउ गरेको थियो। जिल्ला अदलत सर्लाहीले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर, धरौटी नबुझाएपछि उनलाई माघ २७ गते सुनसरीको झुम्का कारागार चलान गरिएको थियो।
केही दिन कारागार बसेपछि यादवले फागुन २ गते धरौटी बुझाएर रिहा भएलगत्तै सीआइबीले सम्पत्ति शुद्धिकरणमा अनुसन्धानका लागि पक्राउ गरेको थियो । सर्लाहीको बरहथवाका रामबाबु राय र ब्रहमपुरीका सञ्जय साह रौनियारले ऋण दिएबापत जग्गा बन्धकी राख्नेमात्र होइन, रजिस्ट्रेसन नै पास गरेर लिने गरेका थिए। सर्लाहीका किसानहरुले प्रहरीमा उजुरी गरेपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको थियो ।







डिसी नेपाल







Facebook Comment