सगुनको शेयर विक्री खुल्ला, दोश्रो चरणको मिनी आइपीओ शुरु

डिसी नेपाल
१९ जेठ २०७७ १०:१०

वासिङ्टन डिसी । अमेरिकामा रहेका नेपालीहरुले स्थापना गरेको सामाजिक इकमर्स स्टार्ट अप कम्पनी सगुन (www.sagoon.com) ले विश्वभरबाट लगानी जुटाउन १ जुन, २०२० देखि दोस्रो चरणको सेयर निस्कासन गरेको छ । सगुनले आज जारी गरेको प्रेस विज्ञप्तीका अनुसार यस चरणमा ग श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्बसाधारणलाई विक्री गर्ने छ । सगुन (Sagoon) को सेयरमा विश्वभर रहेका सर्बसाधारणले कम्तिमा ३० कित्ता सेयर (९ सय अमेरिकी डलरको) खरिद गर्न सक्नेछन्। कम्पनीले उक्त सेयर सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने गरी निश्कासन गरेको हो।

विज्ञप्तीका अनुसार, यस चरणको मिनी आइपीओ मार्फत शेयर निस्कासन गर्नका लागि सगुनले पेश गरेको विवरणपत्रका आधारमा The US Securities and Exchange Commission (SEC) (https://www.sec.gov/)  ले सगुनलाई मिनी आइपीओ मार्फत सर्वसाधारणका लागि शेयर निष्कासन गर्न योग्य ठहर गरी अनुमति प्रदान गरेको थियो । सोही आधारमा दोश्रो चरणमा शेयर निस्कासन गरेको छ ।

सगुन (Sagoon) ले सन् २०१७ मा यसको पहिलो रेज ए प्लस  अन्तर्गत  मिनी आइपिओ मार्फत प्रतिकित्ता २३ डलरका दरले शेयर निस्कासन गरेको थियो । त्यतिखेर सगुनमा विश्वभरबाट ४ हजारभन्दा बढी लगानीकर्ताले ४६ लाख डलर लगानी गरेका थिए ।

सामाजिक सञ्जालको भीडमा नयाँ सोच र योजनाको सपना बोकेर सन् २०१४ बाट सगुन सञ्चालनमा आएको थियो । सामाजिक सञ्जाल र इकमर्शको प्लेटफर्मका रुपमा सगुनलाई उभ्याई यसका प्रयोगकर्ताहरुलाई समेत आफ्नो आम्दानीको हिस्सा बाड्ने नयाँ अवधारणा सगुनले बोकिरहेको छ । विगत केही समय देखि परिक्षणका रुपमा सगुनले यो अवधारणालाई प्रयोगमा ल्याइरहेको छ ।

पहिलो चरणको मिनी आइपीओ मार्फत विश्वभरिका सर्वसाधारणहरुबाट प्राप्त आर्थिक लगानी र हौसला पश्चात सगुनले निकै फडको मारेको छ । विशेषगरी आफ्नो प्रोडक्टमा ध्यान केन्द्रित गरेको सगुनले हाल ‘सगुन लाइट’ एप बजारमा ल्याइसकेको छ । साथमा सगुनले भन्दै आएको ड्रिम प्रोडक्ट ‘सोसियल स्मार्ट कार्ड’को बेटा भर्सन समेत शुरु गरिसकेको छ ।

‘एन्ड्रोइड र आइओयस दुवै अपरेटिङ् सिस्टमका लागि उपलब्ध ‘सगुन लाइट’ एपमा सामाजिक सञ्जाल र इकमर्श दुबैको समायोजनको प्रारुप देख्न सकिन्छ । सामाजिक सञ्जालको पाटोमा हाल बजारमा उपलब्ध अन्य सामाजिक सञ्जाल भन्दा आफूलाइ फरक र प्रयोगकर्ताले मन पराउने विशेषता सहित आएको छ । जसमा विविध विषयका टपिक्सहरु राखिएका छन् र प्रयोगकर्ताहरुले आफ्ना रुचिका विषय/क्षेत्र छानेर त्यसैमा आफ्ना विचार बाड्ने र सोही विचारका अन्य प्रयोगकर्ताहरुसंग जोडिन सक्छन् । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले चाहना गरेका यस्ता विशेषता कारणले पनि सगुन प्रतिको आकर्षण पछिल्ला दिनहरुमा अत्यधिक बढेर गएको पाइएको छ ।’ सगुनका सहसंस्थापक कविन्द्र सिटौला बताउँछन् ।

यसै गरी सगुनले परिक्षणकोरुपमा शुरु गरेको सोसियल स्मार्ट कार्डले प्रयोगकर्ताहरुलाई विशेषरुपमा आकर्षण गरेको छ । सगुनमा समय विताएका आधारमा प्रयोगकर्ताहरुले स्मार्ट क्वाइन प्राप्त गर्नेछन् जुन सगुनको एपमा सोसियल स्मार्ट कार्डमा देख्न सकिन्छ । जति धेरै सगुन एप प्रयोग गर्यो त्यति धेरै क्वाइन प्राप्त हुने र ती क्वाइनहरुलाई सगुनले तोकेका व्यवशायिक कम्पनीका वस्तु तथा सेवा खरिदमा प्रयोग गर्न सक्नेछन् । परिक्षणका लागि हाल नेपाल र भारतका प्रयोगकर्ताहरुले यो सुविधा प्राप्त गर्न शुरु गरिसकेका छन्।

बजारमा रहेका अन्य सामाजिक सञ्जालमा उपलब्ध हरेक विषय र क्षेत्रमा रुचि नभए पनि समावेश हुनै पर्ने वाध्यता र लामो समय ती सञ्जालहरुमा समय विताउँदा प्रयोगकर्ताले केही पनि प्राप्त गर्न नपाइरहको अवस्थामा सगुनले नयाँ प्रयोग शुरु गरिसकेको छ । यिनै विशेष प्रकारका विशेषताहरुका कारणले सगुनमा हालसम्म विश्वभरबाट ५६ लाखभन्दा बढि प्रयोगकर्ताहरु जोडिएका छन् र यो क्रम अत्यधिक मात्रामा बढ्रदो छ।

सगुनका संस्थापक गोविन्द गिरीका भन्छन् – हामी विश्वभरीका लगानीकर्ताहरुबाट पाएको सहयोग र विश्वासले उत्साहित र गौरवान्वित भएका छौं । उहाँहरुको सहयोगले सगुनलाई हामीले बालकदेखि वृद्ध अबस्थासम्मका मानिसलाई जोड्ने प्लेटफर्म बनाउन सकेका छौं ।

गिरीले भने – सगुनमा प्रयोगकर्ताहरूले साथीहरूसँग सम्पर्क गर्ने मात्र हैन, सोसियल इकमर्समा समेत संहभागी हुनसक्नेछन् । यसमा खाता खोलेर विताएको समयका अधारमा आम्दानी पनिर्न सकिन्छ ।

नेपाल र भारतका प्रयोगकर्ताले सगुनलाई अझ धेरै मन पराएको  र यी दुई मुलकका प्रयोगकर्ताले दिनमा २३ पटकभन्दा बढी सगुन (Sagoon) खोल्ने गरेको जानकारी दिए।

सगुनका प्रयेगकर्ताले दैनिक एक घण्टाभन्दा बढी समय यसमा खर्च गर्दछन्, उनले भने । अरूले सुनाएकै अधारमा प्रयोगकर्ताको साप्ताहिक वृद्धि दर ३० प्रतिशत देखिएको छ । हामी विशिष्ट र सुरक्षित-ज्ञानमा आधारित सामाजिक अनुभवको खोजीमा रहेका प्रयोगकर्तालाइ यस संजालमा समेट्न सफल हुनेछौं भन्ने कुरामा हाम्रो बलियो र समर्पित टोली विश्वास गर्दछ ।

सगुनले अमेरिकी सेयर बजारमा लगानी प्रक्रियाको सहजिकरण र नियमनका लागि फण्ड अमेरिका र प्राइम ट्रस्टसँग साझेदारी गरेको छ।

सगुन (Sagoon) ले अहिलेको सार्वजनिक निस्कासनमा सर्वसाधारण र संस्थागत लगानीकर्ताहरूबाट लगानी स्वीकार गर्नेछ । यस पटकको निस्कासन सीमित समयको लागि मात्र खुला रहनेछ। यस पटक सर्ब साधारणले गरेको लगानीबाट जम्मा भएको रकमले प्रयोगकर्ताको आधार वृद्धि गर्न, प्लेटफर्म विस्तार गर्न र सगुन (Sagoon) का नयाँ एप, सुविधा र विशेषताहरू थप गर्न खर्च गर्ने कम्पनीले जनाएको छ।

सगुन (Sagoon) को सेयर खरिद गर्न इच्छुक ब्यक्तिले  https://www.sagoon.com/invest   मा गएर वा सगुन एपमा रहेको मिनि आइपिओ (Sagoon Mini-IPO) ट्याब छानेर लगानी गर्न आवेदन गर्न सक्नेछन्  ।

नयाँ र विशेष अवधारणा सहित विश्व बजारमा प्रतिष्पर्धा गरी स्थापना भएको स्टार्ट अप कम्पनी सगुन, नेपालीहरुले स्थापना गरेका यो प्रकारको कम्पनीमा पहिलो हो । यस्ता प्रकृतिका कुनै पनि कम्पनीहरुमा सगुन बाहेक अन्य कम्पनीहरुबाट नेपाली समुदायमा लगानीको अवसर प्राप्त हुन सकेको थिएन । तर सगुनले यो अवसर लिएर आएको छ – मिनी आइपीओ मार्फत।

संस्थापक गिरी भन्छन् – ‘हामी सामाजिक सञ्जालको विश्व बजारमा नयाँ इतिहास रचना गर्ने सपना बोकेर अगाडि हिंडिरहेका छौं । हामी हिड्न ढिलो होला तर गन्तव्यमा पुगेरै छाड्ने छौं । मात्र हामीलाई विश्व समुदायको साथ र हौसला चाहिन्छ, विशेषगरी नेपाली समुदायबाट। विश्वमा एक दिन सगुन शब्दको अर्थ जस्तै सगनुलाई ‘शुभ क्षण’ र ‘भाग्य’ बनाएरै छाड्ने छौं।’

 

 

 




प्रतिक्रिया

One thought on “सगुनको शेयर विक्री खुल्ला, दोश्रो चरणको मिनी आइपीओ शुरु

Leave a Reply to Chinta Bajgai Cancel reply

Your email address will not be published. Required fields are marked *