लकडाउन खुकुलो बनाउने सरकारको तयारी, प्रधानमन्त्री ओली विज्ञसँग छलफल गर्दै

डिसी नेपाल
२१ जेठ २०७७ ७:५५

काठमाडौं। लगातारको लकडाउनले समान्य जनजीवन अस्तव्यस्त बन्न थालेपछि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ। सरकारले लकडाउनको मोडालिटीका विषयमा सरोकारवाला निकायसँग परामर्श सुरु गरेको छ।

मंगलबार कोरोना रोगथाम तथा नियन्त्रणका लागि गठिन उच्चस्तरीय समन्वय समितिले नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग छलफल गरेको थियो। सो छलफलका क्रममा महासंघका पदाधिकारीले कोरोना अतिप्रभावित, प्रभावित र कम प्रभावित क्षेत्रको पहिचान गरी त्यही अनुसारको मोडालिटी तय गर्न सुझाव दिएका थिए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले रेड जोन, यल्लो जोन र ग्रीन जोनमा छुट्टयाएर लकडाउनको मोडालिटी परिवर्तन गर्न आफूहरुले सुझाव दिएको बताइन्।

सरकारले पनि  बढी संक्रमण भएको क्षेत्र र कम संक्रमण भएको क्षेत्र तोकेर लकडाउन खुकुलो बनाउने सरकारको तयारी छ। जोखिमलाई दृष्टिगत गरी निश्चित मापदण्ड तोकेर आर्थिक गतिविधि सञ्चालन गर्न दिइने तयारी गरेको छ ।

समन्वय समितिले आज (बुधबार) स्वास्थ्य क्षेत्रका विज्ञसँग लकडाउनको मोलाडिलीका विषयमा छलफल गर्ने प्रधानमन्त्री कार्यालयका सविच नारायणप्रसाद बिँडारीले जानकारी दिए।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लकडाउनका विषयमा विज्ञसँग छलफल गर्दैछन्। प्रधानमन्त्री ओलीले आज दिउँसो चार बजे बालुवाटारमा विज्ञहरुसँग छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भएको लकडाउन लम्बिन थालेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्न र आर्थिक गतिविधि सुरु गर्न सरकारमाथि दबाब परिरहेको छ।

प्रधानमन्त्री ओलीले खासगरी स्वास्थ्य, आर्थिक र सामाजिक क्षेत्रका २५ जना विज्ञलाई छलफलका लागि बालुवाटार डाकेको स्रोतले जनाएको छ। विज्ञहरुको छलफलपछि मात्रै लकडाउनको मोडालिटीबारे निर्णय लिइने बताइएको छ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत्र ११ गतेदेखि जारी गरेको लकडाउन जेठ ३२ गतेसम्म बढाएको छ। लकडाउन बढाए पनि नेपालमा कोरोना संक्रमितहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ। हालसम्म नेपालमा २ हजार भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *