फौजी किरा नियन्त्रणका लागि किसानलाई निःशुल्क विषादी

डिसी नेपाल
२४ जेठ २०७७ १९:४०

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले मकैबालीमा फौजी किराको प्रकोप बढ्दै गएपछि नियन्त्रणका लागि किसानलाई निःशुल्क विषादी वितरण गरेको छ । गाउँपालिकाभित्रका ४ सय किसानलाई करिब ६ सय बोतल विषादी वितरण गरिएको हो ।

गाउँपालिकाका कृषि शाखा प्रमुख आनन्दराज घिमिरेले प्रकोप बढ्दै गएपछि नियन्त्रणका लागि किरा मार्ने विषादी नै आवश्यक हुने भएकाले किसानलाई निःशुल्क वितरण गरिएको बताए । गत वर्ष फाट्टफुट्टरुपमा देखिएको फौजी किरा यस वर्ष भने अत्यधिक बढेको उनले बताए। गाउँपालिकाभर ५० बिघाभन्दा बढी मकैबालीमा यसको प्रकोप देखापरेको उनको भनाइ छ ।

अहिले किसानलाई फौजी किराबारे जानकारी गराउने र नियन्त्रणका उपाय सिकाउने काम गरिरहेको उनले बताए। गर्मी भेगमा बढी सक्रिय हुने फौजी किरा यसपटक माथिल्लो पहाडी भेगमा पनि देखिन थालेको उनले बताए । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले आवश्यकताअनुसार किसानलाई थप निःशुल्क विषादी उपलब्ध गराउने जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *