प्रभावकारी बन्दै बालिका विकास बचत खाता कार्यक्रम

डिसी नेपाल
२५ जेठ २०७७ ६:५७

चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

आर्थिक वर्ष २०७५ ०७६ देखि गाउँपालिकाले बालिका विकास कार्यक्रमअन्तर्गत गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा जन्मिएका बालिकाहरुको भविष्यका लागि बालिका र अभिभावकको संयुक्त नाममा बैंकमा खाता खोलिदिने गरेको छ।

खोलिएको खातामा गाउँपालिकाले रु १० हजार जम्मा गरिदिने गरेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिए ।

गर्भमै पहिचान गरी बालिकाको भ्रूण हत्या गर्ने कार्यलाई निरुत्साहन गर्न र स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी गराउने कार्यलाई प्रोत्साहित गर्न बालिका विकास कार्यक्रम ल्याइएको अध्यक्ष गुरुङले बताए ।

कार्यक्रम शुरु भएको दुई वर्ष हुन लागेको छ। यस अवधिमा गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा जन्मिएका ४१ बालिकाको बालिका विकास बचत खाता खोलिएको छ।

कार्यक्रमका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्ने गरेको छ । पहिलो आर्थिक वर्षमा रु पाँच लाख छुट्ट्याएको गाउँपालिकाले चालु आर्थिक वर्षमा रु सात लाख विनियोजन गरेको थियो।

बालिका विकास बचत खाता कार्यक्रमसँगै स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या बढेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *