पच्चीस सडक बालबालिकाको उद्धार

डिसी नेपाल
२७ जेठ २०७७ २१:०६

काठमाडौं । सरकारले सडकमुक्त बालबालिका बनाउने अभियानसँग काठमाडौँका विभिन्न स्थानबाट २५ जना बालबालिकाको उद्धार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रिय बालअधिकार परिषद्को नेतृत्वमा काठमाडौँको ठमेल, पुरानो बसपार्क र चावहिल चुच्चेपाटीमा बेवारिसे अवस्था भेटिएका २५ जना बालबालिकालाई उद्धार गरी पुनःस्थापना केन्द्रमा व्यवस्थापन गरिएको हो ।

लकडाउनका बेला सामाजिक सञ्जालमा काठमाडौँका विभिन्न स्थानमा सडक बालबालिका बेवारिसे अवस्थामा भेटिएको उल्लेख भएलगत्तै उनीहरुको तत्काल उद्धार गरी व्यवस्थापन गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले परिषद्लाई निर्देशन दिएका थिए । मन्त्री गुरुङको निर्देशन आएलगत्तै बालबालिका खोजतलास समन्वय केन्द्रसँगको समन्वयमा ठमेल क्षेत्रबाट १७, पुरानो बसपार्कबाट तीन, चावहिल चुच्चेपाटीबाट पाँचजनाको उद्धार परी पुनःस्थापना केन्द्रहरुमा संरक्षणको उचित व्यवस्था मिलाइएको परिषद्का प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए ।

उद्धार गरिएका सबै बालिबालिकाको कोरोना परीक्षणको पनि व्यवस्था मिलाइएको केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए । केन्द्रका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहका अनुसार लकडाउनका बेलामा बालबालिका सडकमा आउन नदिन उच्च सतर्कता अपनाइएको छ । मन्त्री गुरुङको प्रत्यक्ष निर्देशनमा लकडाउनको यस अवधिमा काठमाडौंँ उपत्यकाभित्र ३५ र उपत्यका बाहिर ३२ गरी ६७ जना सडक बालबालिकाको उद्धार गरी संरक्षणको व्यवस्था मिलाइएको परिषद्ले जनाएको छ ।

सरकारले २०७३ साल वैशाखदेखि ‘सडकमुक्त बालबालिका’ अभियानअन्तर्गत सडक बालबालिकाको उद्धार र व्यवस्थापनको काम शुरु गरेको हो । हालसम्म एक हजार २६८ बालक र १९० बालिका गरी एक हजार ४७६ जनाको उद्धार गरी संरक्षणको उचित व्यवस्था मिलाएको पनि परिषद्का प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए । मन्त्री गुरुङले सडकमा बालबालिका बेवारिसे अवस्थामा भेटिए तत्काल नेपाल प्रहरी वा बालबालिका खोजतलास समन्वय केन्द्रको निःशुल्क हटलाइन सेवा १०४ मा सम्पर्क गरी उनीहरुको उद्धार र संरक्षणका लागि आवश्यक सहयोग गर्नुहुन सबैलाई पुनः अनुरोध गर्नुभएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.