जापान उड्नुअघि विमानास्थलमा भद्रगोल

डिसी नेपाल
२७ जेठ २०७७ २२:१८

काठमाडौं । नेपाल एयरलाइन्सको जहाज ७ जना बालबालिका र २ सय ५६ जना यात्रु बोकेर मंगलबार राति १० बजे जापान उडेको छ । नेपालबाट जापान जाने नेपाली र केही विदेशीसहित सो विमान जापान उडेको हो ।

जापान विमान उड्नुअघि विमानस्थलमा भद्रगोल देखिएको छ । जापान जाने यात्रुले डिसी नेपाललाई पठाएको तस्वीरमा यात्रुहरुले सामाजिक दुरीको अलिकति पनि ख्याल नगरेको पाइन्छ। कोरोना कहरकाबीच जापान उड्न लागेको विमानमा चढ्नका लागि तछाडमछाड भएको देखिन्छ । यो भद्रगोल अवस्था बारे विमानस्थल प्रहरीलाई फोन सम्पर्क गर्दा उनले डिउटी असिफसरलाई फोन गर्न भने।

हामीले विमानस्थलको टर्मिनल डिउटी अफिसरको फोन नम्बरमा फोन ग¥यौं । फोन रिसिव गरेका अधिकारीले भद्रगोल भएको स्वीकार गरेका छन्। उनले भने, ‘एयरलाइन्स र ट्राभल एजेन्सीको मिलेमतोमा यस्ता कामहरु भएका हुन्। ९ः३० मा उड्ने विमानको लागि ७ बजेपछि यात्रुहरु बोलाइए । चेकजाँचमै समस्या भयो। हामीले बनाएको सीमारेखाभित्र पटक–पटक आग्रह गर्दा उहाँहरुले नै मान्नु भएन।’

‘यात्रुहरु कोरोना विर्सेर जापान जान हतारिएका छन्।’ उनले भने, ‘हामीले बस्नका लागि बनएका सिटहरुमा पनि हेर्दै नहेरी बस्ने, उभिनलाई बनाएको गोलो रेखाभित्र पनि नउभिने, कतिले मास्क पनि नलगाइदिने, यात्रुहरुले नै समस्या पारेका छन्।’ उडानका अनुमति नै ढिलो पाएका कारण एयरपोर्टमा हतार–हतार देखिदा भद्रगोलको स्थिति आएको उनले बताए।

यसरी देशको विभिन्न ठाउँबाट जापान जान आएकाहरुमा सामाजिक दुरी कायम नभएको देखिएपछि उत्तरदायी यात्रुहरुलाई भने चिन्ता बढेको छ । उनीहरु कोरोना संक्रमित भइन्छ कि भन्ने त्रासमा थिए।

अन्तर्राराष्ट्रिय विमानास्थलजस्तो सम्बेदनशील ठाउँमा देखिएको भद्रगोलले आगामी उडानहरुका लागि पनि त्रास थपि दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.