‘नेपालको ग्रेटवाल’ निर्माण हुँदै

डिसी नेपाल
१७ असार २०७७ २०:२४

चौतारा । पर्यटकीय दृष्टिले चर्चित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा हिमालयन हेलम्बु ग्रेट ट्रेल (पदमार्ग) निर्माण गर्ने कार्यक्रमअनुसार चालु वर्ष २६० मिटर काम सम्पन्न भएको छ । गत वर्ष एक सय १० मी काम भएको थियो ।

यस वर्ष शेर्माथाङ र नागीडाँडास्थित बुद्धपार्क दुवैतिरबाट एकै साथ निर्माण शुरु गरी १५० मी पदमार्ग सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। उनका अनुसार बहुवर्षीय योजनाअन्तर्गत ६० किमी लामो चीनको ग्रेटवालको झल्को दिने खालको उक्त परियोजना सम्पन्न गर्न अनुमानित रु तीन अर्ब ५० करोड बजेट लाग्ने छ ।

उक्त कामका लागि गत वर्ष वाग्मती प्रदेश सरकारबाट रु ५० लाख बजेट निकासा भएको थियो । सोही बजेटबाट पालिकाकै प्राविधिकद्वारा १० किमीको विस्तृत परियोजना प्रतिवेदन तयार गरी बाँकी रकमबाट ११० मी पदमार्ग निर्माण गरिएको थियो । यस वर्ष पनि वाग्मती प्रदेशको हेटाँैडास्थित पर्यटन विकास आयोजनाले रु ५० लाख बजेटबाट शेर्माथाङ तर्फबाट काम शुुरु गरी ७५ मी सम्पन्न गरेको छ । गाउँपालिकाले रु ४० लाख बजेटबाट नागीडाँडादेखि शुरु गरी ७५ मी सम्पन्न भई जम्मा १५० मी सम्पन्न भएको पालिकाका सबइञ्जिनीयर शेरबहादुर राईले बताए । उनका अनुसार यस वर्ष २१५ मी सम्पन्न गर्ने लक्ष्य रहे पनि कोभिड–१९ महामारीले बन्दाबन्दी भएपछि तीन महिनासम्म काम रोकिएको थियो ।

यस क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले सिमेण्ट र बालुवाको ढुवानीको समस्याका साथै दक्ष कामदारको अभाव हुन पुगेपछि काममा ढिलाइ भएको हो । शुुरुदेखि नै काम गर्ने अनुभवी कामदारबाटै काम गराउनुपर्ने हुँदा ती कामदारलाई बन्दाबन्दीमा घरबाट बाहिर निस्कन पालिकाले कडाइ गरेको थियो ।

कडाखाले चट्टाने ढुङ्गा काटेर इँटा आकारमा तयार गरी निर्माण गरिने उक्त पदमार्ग एक मी पूरा गर्न रु ३० हजार खर्च लाग्नाका साथै समय पनि बढी लाग्छ । सिमेण्टको जोडाइमा दुई मी चौडाइको सिँढी तयार गरी दुवैपट्टि ६० सेमी उचाइको पर्खाल निर्माण गरिएको छ । उक्त पदमार्ग आकर्षक र मनमोहक देखिन्छ ।

पहिलो मार्ग हेलम्बु १ को नागीडाँडास्थित बुद्धपार्क, शेर्माथाङ, ज्योमोथाङ, आमायाङ्ग्री, भेमटाङ हुँदै ग्याङ्जाला भञ्ज्याङमा गएर टुङ्गिने छ । दोस्रो मार्ग हेलम्बु – ६ को इचोकस्थित घोप्टेघ्याङ, पाकेडाँडा, ढाडेपाटी, सेमीसिदाङ हुँदै ग्याङ्जाला भञ्ज्याङमै गएर टुङ्गिने छ । उक्त पदमार्ग अङ्ग्रेजी अक्षरको ‘सी’ अर्थात् अर्धचन्द्राकारको हुनेछ । पदमार्गको निर्माण सम्पन्न भएपछि रसुवाको धार्मिकस्थल गोसाइँकुण्ड आवतजावतमा पनि सहज हुने बताइएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.