अमेरिकामा नेपालीले नातीकै अगाडि छोरी र श्रीमतीलाई काटेर मारे, आफू प्रहरीको गोलीबाट मरे

डिसी नेपाल
१२ फागुन २०८२ १०:०२
12.2k
Shares

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीमा सोमबार बिहानै एक नेपाली परिवारमा भएको घरेलु हिंसाले दुईजनाको ज्यान लिएको छ। ५० वर्षीय छत्रबहादुर थापाले १० इन्च लामो धारिलो हतियार प्रयोग गरी आफ्नी श्रीमती र छोरीलाई फेयरफ्याक्सस्थित पर्सिमन ड्राइभको अपार्टमेन्टमा हत्या गरेका हुन्।

पुलिसलाई बिहान ५:१५ बजे घरेलु हिंसाको खबर प्राप्त भएपछि घटनास्थल पुगेका अधिकारीहरूले ‘कल्पनाभन्दा परको, भयावह र वीभत्स’ दृश्य देखेको फेयरफ्याक्स काउन्टी पुलिस प्रमुख केभिन डेविसले बताएका छन्। आरोपी थापा प्रहरीको गोलीबाट मारिएका छन् ।

थापाको ज्वाइँ ३५ वर्षीय सन्तोषकुमार बस्नेतले बाहिर कार सफा गर्दै गर्दा घरभित्रको हल्ला सुनेर ९११ मा फोन गरेका थिए। घरभित्र प्रवेश गर्दा उनले ३१ वर्षीया पत्नी ममता थापा र ५१ वर्षीया सासु बिन्दा थापालाई रगतको आहालमा देखेका थिए।

थापाले त्यसपछि ज्वाईँ बस्नेतमाथि पनि आक्रमण गरी गम्भीर घाइते बनाएका थिए। बस्नेतमाथि आक्रमण हुँदै गर्दा प्रहरी पुगेको थियो । घटनास्थलमा पुगेका प्रहरीहरूले थापालाई हतियार फ्याँक्न आदेश दिए पनि उनले अस्वीकार गरेपछि प्रहरीले गोली चलाउनुपरेको थियो। घटनास्थलमै थापाको मृत्यु भएको थियो।

थापाले १ वर्षका नाती घरमै रहेको बेलामा पूरै परिवारमाथि आक्रमण गरेका हुन्। । उनले नातीलाई भने केही गरेनन् । घटनाका बेला घरमै भए पनि एक वर्षका बालक भने सुरक्षित रहेको प्रहरीले जनाएको छ। अनुसन्धानकर्ताहरूले परिवारसँग सम्बन्धित कुनै आपराधिक इतिहास वा पूर्व रिपोर्ट नभएको बताएका छन्। घटनाको कारण अझै अनुसन्धान भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *