अमेरिकामा कुमा सागर र ख्वपः ब्यान्डको सांगीतिक धमाका, एक हजार बढी दर्शक सहभागी
वासिङ्टन डीसी। अमेरिकाको वासिङ्टन डीसी, मेरिल्यान्ड र भर्जिनिया क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै भव्य सांगीतिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
दक्वो इभेन्ट्सअन्तर्गत सरोज श्रेष्ठको व्यवस्थापन तथा ‘डीएमभी कलेक्टिभ’को प्रस्तुतिमा सेप्टेम्बर १८ मा आयोजित उक्त कार्यक्रममा प्रसिद्ध गायक कुमा सागर तथा ख्वपः ब्यान्डले बेजोड सांगीतिक प्रस्तुति दिएका छन्। कार्यक्रममा एक हजारभन्दा बढी दर्शकको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
नेपाली तथा नेवाः संस्कृति झल्काउने उद्देश्यले आयोजित कार्यक्रमको मुख्य आकर्षणमा सांगीतिकसँगै परम्परागत सांस्कृतिक प्रस्तुतिहरू रहेका थिए। मुख्य सांगीतिक कार्यक्रमअघि नेवाः सांस्कृतिक नृत्य, फ्युजन प्रस्तुति, सारङ्गी वादन, खड्गयोगिनी नृत्य र प्रत्यक्ष धिमे बाजाको तालमा नृत्य प्रस्तुत गरिएको थियो।
यसैगरी, कार्यक्रममा यज्ञमान शाक्यले महाकाल नृत्य प्रस्तुत गरेका थिए भने परम्परागत लाखे नृत्यले दर्शकलाई थप आकर्षित गरेको थियो। पूर्व कवेब तथा मङ्की टेम्पल ब्यान्डका प्रमुख गिटारवादक सृजन विक्रम घेवालीले उत्कृष्ट गिटार प्रस्तुति दिएका थिए। परम्परागत सांस्कृतिक कला र आधुनिक संगीतको संगम बनेको यस कार्यक्रममा विभिन्न पुस्ताका दर्शकहरूको बाक्लो उपस्थिति थियो।
सांस्कृतिक प्रस्तुतिलगत्तै कुमा सागर र ख्वपः ब्यान्डले आफ्ना लोकप्रिय गीत-संगीत प्रस्तुत गर्दा सभाहलभरिका एक हजारभन्दा बढी दर्शकहरू संगीतमय माहोलमा झुमेका थिए।
यस कार्यक्रमलाई ‘डीएमभी कलेक्टिभ’को मुख्य आयोजनामा पाण्डे होम्स इन्टरटेनमेन्ट, मण्डला इन्टरटेनमेन्ट, प्रोजेक्ट ऊर्जा, मुग्लानको बतास, बेसक्याम्प बिट्स, आवर एक्स इन्टरटेनमेन्ट र नाम्लो इभेन्ट्सजस्ता विभिन्न संस्थाहरूले सहकार्य गरेका थिए।
कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न स्थानीय व्यवसायी तथा संस्थाहरूले प्रायोजन र साझेदारीमार्फत सहयोग पुर्याएका थिए। मुख्य प्रायोजक (प्लाटिनम स्पोन्सर) तर्फ गणेश पाण्डे (पाण्डे होम्स) र आदित्य घिमिरे (घिमिरे होम्स) रहेका थिए भने अन्य स्वर्ण, रजत तथा कास्य प्रायोजकका साथै खाद्य तथा पेय पदार्थ साझेदारहरूले समेत सहयोग गरेका थिए।
सामुदायिक तथा गैरनाफामूलक संस्थातर्फ पिकेपी टेन्डर हार्ट्स फाउन्डेसन, नृत्य मण्डप डान्स एकेडेमी, नेवाः अर्गनाइजेसन अफ अमेरिका, नेपा पासा पुचः अमेरिकाय्, नेपा कम्युनिटी युएसए र ल्याय्म्ह अमेरिका लगायतका संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो।
आयोजकका अनुसार स्थानीय व्यवसाय, यात्रा साझेदार, टिकट व्यवस्थापन टोली, प्रकाशक, भिडियो सम्पादक, सुरक्षा तथा प्राविधिक टोली र स्वयंसेवकहरूको एकीकृत सहकार्यकै कारण यति ठूलो संख्यामा दर्शक सहभागी गराउन सम्भव भएको हो।
विदेशमा रहेर पनि नेपाली भाषा, संगीत, कला र सांस्कृतिक पहिचानलाई जोगाइराख्ने प्रयासस्वरूप आयोजित यस कार्यक्रमले वासिङ्टन डीसी क्षेत्रमा नेपाली सांस्कृतिक गतिविधिहरूलाई अझ उचाइमा पुर्याउन सहयोग पुर्याएको आयोजकहरूले बताएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment