राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन
काठमाडौं। विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका गतिविधिमा संलग्न भएको तथ्य सामाजिक सञ्जालमार्फत बाहिरिएपछि शिक्षा तथा खेलकुद मन्त्री सुस्मित पोखरेलले त्यस्ता शिक्षकहरूलाई कडा कारबाही गर्न निर्देशन दिएका छन्।
मन्त्री पोखरेलले देशभरका विद्यालयमा शिक्षकहरूको दलगत गतिविधिलाई कडाइका साथ निगरानी गर्नसमेत मातहतका निकायलाई निर्देशित गरेका छन्।
मन्त्रालयको निर्देशनलगत्तै जिल्लास्तरमा शिक्षा विकास तथा समन्वय एकाइहरूले स्थानीय तहसँगको सहकार्यमा निगरानी र कारबाही प्रक्रिया अघि बढाएका छन्।
यसैक्रममा, शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै शिक्षकहरूको दलगत सहभागिताबारे गहन निगरानी गर्न निर्देशन दिएको छ।
एकाइ प्रमुख दशरथ दत्त भट्टद्वारा जारी पत्रमा प्रचलित शिक्षा ऐन, नियमावली र सरकारी मापदण्डविपरीत राजनीतिक कार्यक्रममा सहभागी हुने शिक्षकमाथि प्रचलित कानुनबमोजिम कारबाही गरी मन्त्रालयलाई समेत जानकारी गराउन आग्रह गरिएको छ।
त्यसैगरी, शिक्षा विकास तथा समन्वय एकाइ, सिन्धुलीले पनि सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय भएको पाइएमा तत्काल कारबाही गर्न स्थानीय तहहरूलाई पत्राचार गरेको छ।
सिन्धुलीको दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पठाइएको पत्रमा सामाजिक सञ्जालमा प्राप्त प्रमाणका आधारमा चार जना शिक्षक तथा कर्मचारीको दलगत संलग्नता पुष्टि भएको उल्लेख छ।
एकाइ प्रमुख तथा उपसचिव दिनेश प्रसाद देवकोटाका अनुसार राजनीतिक गतिविधिमा संलग्न देखिएका शिक्षक तथा कर्मचारीहरूमा प्रेम प्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुन कुमार गौतम र यतिराज तिमल्सिना रहेका छन्।
शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) को व्यवस्थाविपरीत कार्य गरेको भन्दै उनीहरूमाथि कानुनबमोजिम आवश्यक कारबाही गरी त्यसको विवरण अविलम्ब एकाइ र शिक्षा विभागमा पठाउन सम्बन्धित पालिकालाई निर्देशन दिइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment