विश्वमञ्चमा हिमाली मुद्दा उठाउन नयाँ कार्यदल गठन, नेतृत्वमा नेपालकी सोनिका पौडेल
न्युयोर्क। संयुक्त राष्ट्रसंघीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था ‘मेजर ग्रुप फर चिल्ड्रेन एन्ड युथ’ (एमजीसीवाई) ले हिमाली क्षेत्र, पारिस्थितिक प्रणाली तथा हिमाली समुदायका संवेदनशील सवालहरूलाई अन्तर्राष्ट्रिय कूटनीतिक तहमा उठाउन ‘पर्वतीय समुदाय तथा पारिस्थितिक प्रणाली युवा कार्यदल’ को स्थापना गरेको छ।
संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा आयोजित “क्रायोस्फियरमा जलवायु संकट: हिमाली विपद्विरुद्ध वातावरणीय उत्थानशीलतामा पर्वतीय युवाहरूको नेतृत्व” विषयक अन्तर्राष्ट्रिय भर्चुअल संवादको समापनसँगै यस कार्यदलको औपचारिक घोषणा गरिएको हो। यो कार्यक्रम आगामी काठमाडौं जलवायु कार्य सप्ताह २०२६ को आधिकारिक पूर्वतयारी सत्रका रूपमा सञ्चालन गरिएको थियो।
हिमाली वातावरण संरक्षण तथा अन्तर्राष्ट्रिय जलवायु नीति निर्माण प्रक्रियामा युवाहरूको सहभागिता सुनिश्चित गर्ने उद्देश्यका साथ यस नवनिर्मित कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्ति (ग्लोबल फोकल पोइन्ट) पदमा नेपाली युवा सुश्री सोनिका पौडेल नियुक्त भएकी छन्।
नेपालको वाईफिड फाउन्डेसनमा सञ्चालक समिति सदस्यका रूपमा सक्रिय पौडेल हाल संयुक्त राज्य अमेरिकाको भर्जिनिया पोलिटेक्निक इन्स्टिच्युट एन्ड स्टेट युनिभर्सिटी (भर्जिनिया टेक) मा कृषि तथा प्रसार शिक्षा विषयमा विद्यावारिधि (पिएचडी) गर्दै छिन्। उनको मनोनयनलाई सार्क युवा मञ्चले पूर्ण समर्थन गरेको थियो भने एमजीसीवाईको औपचारिक सचिवालय बैठकले सर्वसम्मतिले अनुमोदन गरेको छ।
यसै कार्यदलको विश्वव्यापी शुभारम्भका अवसरमा आगामी अक्टोबर ९ मा अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा एक विशेष भौतिक कार्यक्रम (साइड इभेन्ट) आयोजना गरिनेछ।
संयुक्त राष्ट्रसंघको ८१औं महासभाको तेस्रो समिति (सामाजिक, मानवीय तथा सांस्कृतिक समिति) को बैठकका क्रममा हुने उक्त कार्यक्रममा नवनियुक्त संयोजक पौडेलले एमजीसीवाईका तर्फबाट आधिकारिक सम्बोधन गर्नेछिन्।
उनले आफ्नो सम्बोधनमा समग्र हिमाली क्षेत्रको वातावरणीय संकटका साथै नेपालमा हालै जलवायु परिवर्तनका कारण सिर्जित विनाशकारी बाढी, पहिरो र डुबानले जनजीवन, कृषि र पूर्वाधारमा पुर्याएको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउनेछिन्।
यस कार्यदलले संयुक्त राष्ट्रसंघीय जलवायु महासन्धिका पक्ष मुलुकहरूको सम्मेलन (कोप), जैविक विविधता महासन्धिजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाली युवाहरूको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
साथै हिमताल विस्फोटन र आकस्मिक बाढीपहिरोबाट प्रभावित समुदायका लागि जलवायु न्यायको वकालत गर्ने तथा कृषि प्रसार शिक्षा र स्थानीय परम्परागत ज्ञानलाई नीति निर्माणमा जोड्ने कामलाई यसले प्राथमिकता दिनेछ।
आफ्नो नियुक्तिपछि बोल्दै नवनियुक्त संयोजक पौडेलले विश्वको पानीको मुहानका रूपमा रहेका हिमालहरू जलवायु संकटको अग्रमोर्चामा रहेकाले हिमाली क्षेत्रका युवा र सीमान्तकृत समुदायको आवाजलाई संयुक्त राष्ट्रसंघमा सशक्त रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment