हरित पार्क नगरपालिकालाई हस्तान्तरण

डिसी नेपाल
२३ असार २०७७ १९:४८

काठमाडौं । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सूर्यविनायक नगरपालिका–४ स्थित दक्षिण बाराही क्षेत्रको सार्वजनिक जग्गामा निर्माण गरिएको ‘सहरी हरित पार्क’ आज सूर्यविनायक नगरपालिकालाई हस्तान्तरण गरे।

पर्यटन, वन तथा वातावरण मन्त्रालयको ससर्त अनुदान कार्यक्रमअन्तर्गत डिभिजन वन कार्यालय भक्तपुरले १० लाखको लागतमा निर्माण गरिएको सो पार्कको उद्घाटन यसअघि उनले नै गरेका थिए।

हस्तान्तरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका सांसद बस्नेतले लामो समयदेखि पछाडि परेको भक्तपुरमा विगत चार वर्षको अन्तरालमा विकासले नयाँ उचाइ चुमेको बताए। उनले भने, “जनताको माग र आवश्यकता बमोजिम विशेषगरी सडक, ढल तथा खानेपानीलगायत क्षेत्रको विकास निर्माणका लागि बजेट ल्याउनदेखि गुणस्तरीय काम भए÷नभएको अनुगमन गर्नसमेत आफू दैनिक खटिने गरेको छु ।”

पार्क, हरियाली तथा वृक्षरोपणका मागहरु खासै नहुने गरे तापनि अहिले भक्तपुरमा भौतिक विकासका साथै फरक ढङ्गले स्वच्छ वातावरण, पर्यटकीय गन्तव्य, सौन्दर्यता, हरित नगरलगायत कार्यहरु गरिँदै आएको उनको भनाइ थियो ।

नेता बस्नेतले मध्यपुरथिमिबाट दधिकोट गाम्चा र बालकोट जाने सडक, दक्षिणवाराहीबाट काठमाडौँ स्कुल अफ ल कलेज हुँदै पानी ट्याङ्की जाने सडक कालोपत्र भइसकेको उल्लेख गर्दै मध्यपुर अस्पताल हुँदै शङ्खर स्कुल अगाडिबाट दधिकोट जाने अर्को सडक पनि बनिसक्दा जनताले धेरै सुविधा पाउनेछ भने।

ठिमी क्षेत्रमा चारवटा पुलहरु बन्ने क्रममा रहेको बताउँदै उनले शङ्खधर चोकबाट गाम्चा हुँदै तर्खगाल जाने सडक बनिरहेको र दक्षिण वाराहीबाट बालकोट जाने सडक यो वर्ष केन्द्रीय योजनामा पर्न सफल भएको बताए। सांसद बस्नेतले भक्तपुरमा प्राकृतिक संरक्षणका दृष्टिकोणले समेत व्यापक मात्रामा विकास हुँदै गएको चर्चा गर्दै दुबो तथा प्राकृतिक कुराहरु नगरपालिकाले गम्भीरताका साथ संरक्षण गर्नुपर्नेमा जोड दिए।

पार्क नगरपालिकालाई हस्तान्तरण भएसँगै आगामी दिनमा उक्त पार्कको संरक्षण, व्यवस्थापन तथा स्तरवृद्धिसमेत नगरपालिकाले गर्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *