ओली-दाहाल एकअर्कालाई थकाउने रणनीतिमा

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्केको विवाद अव दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका बीचमा केन्द्रित भएको छ। दिनहुँ भेटघाट र छलफल गर्ने तर एकले अर्काको कुरा सुन्न र मान्न तयार नहुने स्थिति देखिएको छ।

दुबैजना एकले अर्कालाई इन्गेज गर्ने र आफू र आफ्नो गुटविरुद्ध अकास्मिक कदम नचालियोस् भन्नेमै केन्द्रित रहेका छन्। दैनिक एउटै कुरामा अडान राख्दा राख्दा अथवा कोण फेरि फेरि कुरा गर्दा एकले अर्कोलाई गलाउन सकिन्छ कि भन्ने रणनीतिमा दुबै नेता सक्रिय भएका छन्। यसक्रममा कहिले एक्लै त कहिले सहयोगीसमेत राखेर दुबै नेता वार्तामा छन्।

यसअघि विवादलाई उत्कर्षमा पुर्याउंन सतहमा निकै सक्रिय देखा परेका नेकपाका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम केही दिनदेखि मौन छन्।

खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको अधिवेशनलाई अन्त्य गर्ने आकस्मिक निर्णय लिएपछि पूर्वएमालेका नेपाल, खनाल र गौतम पार्टी नै विभाजन हुने तहमा पुगेको पो हो कि भनेर झस्किएका छन्। र, अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो गुटको नेता मानेर ओलीसंग सत्ता र शक्तिको बार्गेनिङ गराइरहेका छन्।

योजनाबद्ध बैठक र थकाउने सिलसिला

तत्कालका लागि पार्टीको स्थायी समितिको बैठकको आवश्यकता महसुस नगरेका प्रधानमन्त्री केपी शर्मा ओली त्यतिबेला अप्ठेरोमा परे जतिबेला स्थायी कमिटीको बैठक शुरु भएको भोलिपल्टै उनको अरु एजेण्डाहरु थाँती राखेर प्रधानमन्त्रीको राजीनामालाई मुख्य एजेण्डा बनाइयो।

बैठक तय गर्दा राजीनामाको कुरै उल्लेख नगरी अन्य प्रस्तावहरु तय भएका थिए। राजीनामा पनि कस्तो विषय र प्रसंगलाई लिएर मागियो भने जुन विषयले सो पार्टीको गठबन्धनले गएको आम निर्वाचनमा प्रचण्ड बहुमत पाएको थियो अर्थात् छिमेकी मुलुक भारतको हेपाहा र मिचाहा व्यवहारविरुद्ध मुलुकलाई हस्तक्षेप मुक्त राख्ने कुराको सन्दर्भ थियो।

पार्टीको निर्वाचित अध्यक्ष भएकाले पार्टी अध्यक्षको पद अर्को महाधिवेशनसम्मलाई भएको र बीचैमा छाड्नु पर्ने कारण नभएको तथा जनताबाट निर्वाचित भएर संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेकाले संसदीय दलले बहुमतले नहटाएसम्म प्रधानमन्त्री छोड्ने कुरै नहुने तर्कका साथ उनले अडान राखेका छन्।

स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा भारतीय हस्तक्षेपको प्रतिकार गर्दा गर्दा आजित भएका प्रधानमन्त्रीले भारतले आफूलाई हटाउन उसको नेपालस्थित संयन्त्र परिचालन गरेको आरोप लगाउँदै भाषण गरे। भाषणका क्रममा नेपाल र नेपालीमाथि अपमान नै हुने गरी भारतीय मिडियाले लगातार गरेको प्रहारमा पनि आक्रोश व्यक्त गरे।

हो, यही कुरा स्थायी समितिका लागि राजीनामा माग्ने निहुँ भयो। भारतले होइन मैंले राजीनामा मागेको हुं भन्दै स्थायी कमिटीका तय भएका एजेण्डा हटाएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकलाई विषयान्तर गराए।

उनलाई नेपाल, गौतम र खनालसहित सो गुटका अन्य नेताहरुले साथ दिए। यसपछिमात्र ओली समूहले अरु नै एजेण्डामा स्थायी समितिको बैठक बोलाएर आफूविरुद्ध खनिन खोजिएको रहेछ भन्ने थाहा पायो होला सायद्। ओली र उनको समूह त्यसपछि आक्रामक प्रतिरक्षामा उत्रेको छ, चालू सांसद बैठकसमेत अचानक स्थगित गर्ने निर्णय गरेर।

असार १० बोलाइएको स्थायी समितिको बैठक चर्को झगडामा दिन विराउँदै असार १८ गतेसम्म चलेपनि त्यसयता बैठक बस्न नसकेर एकअर्काबीच खुल्ला आरोप प्रत्यारोप र वार्ता दुवै विधिका साथ एक अर्कालाई थकाउने खेल चलेको छ।

प्रचण्ड नेतृत्वको गुटले ओलीलाई पार्टीको अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने अडान राख्दै कम्तिमा एक पदबाट झार्न चाहेको छ। दुईमध्ये एक पद छाडेमा मात्र ओलीसँग सहमति हुने भन्दै सो गुटले नत्र, स्थायी समितिको बहुमतले जे निर्णय गर्छ त्यही मान्नुपर्ने अडान राखेको छ। स्थायी समितिमा ओली अल्पमतमा छन्। यसको प्रतिकारमा ओली दुबै पद नछाड्ने अडानबाट टसको मस भएका छैनन्।

असार १८ गतेदेखि एकअर्कामा बार्गेनिङ गर्दै ओली र दाहालबीचको वार्ता जारी छ। दुस्मन पार्टीका नेताहरु सहमतीको खोजीमा लागे जसरी ओली र दाहाल वार्तामा लागेका छन् र आआफ्ना अडान बाचन गर्दै समय कटाइरहेका छन्।

यसबीचमा भारतीय गुप्तचरका उच्चपदस्थ एजेण्टहरु राजधानीमा सक्रिय भएका र त्यसको काउण्टरमा चिनियाँ राजदूत पनि वरिष्ठ नेता भेट्दै हिडेका घटनाहरु सार्वजानिक भएका छन्।

भारतीय जासुसहरुले १० दिनको समयावधिभित्र ओलीलाई हटाइसक्ने गरी रणनीति कार्यन्वयन गर्न भनेको र सजिलै हटाउन नसकेका जुनसुकै मूल्य चुकाएर(पार्टी फुटाएरै) भएपनि ओलीलाई सत्ताबाट गलहत्याउनु पर्ने गरी चलखेल गरेका विवरणहरु पनि सतहमा आएका छन्।

त्यसैको काउण्टरमा ओलीको सत्ता टिकाउनुपर्ने गरी चीनका राजदूतको भेटघाट भएको टिका टिप्पणी आएका छन्। जासुस र राजदूत दुबैलाई भेट गर्ने नेताहरुले उनीको माग र जिज्ञासा के थियो भन्ने खुलाएका छैनन् बरु अफवाहहरु फैलन दिएर राजनीतिक पानीलाई धमिलो बनाउनेतिरै मद्धत गरेका छन्।

असार १८ र त्यसयता ओली र दाहालबीच पटक पटक वार्ता भएका छन्। असार १९ मा महासचिव विष्णु पौडेल र अर्का नेता जनार्दन शर्मालाई राखेर वार्ता भयो भने असार २० गते वार्ता तय गरेर पनि वार्ता हुन सकेन उल्टै आपसी तिक्तता थप गर्ने काम भयो।

असार २१ गते, पौडेल र शर्मावाहेक शंकर पोखरेल र वर्षामान पुनसहितलाई थप गरेर बार्ता गरियो भने असार २२, २३ र २४ गते लगातार दुई नेतामात्र एकअर्को गुटको प्रतिनिधित्व गर्दै वार्तामा बसेका छन्। तर, परिणाम केही आउन सकेको छैन।

पार्टीको निर्वाचित अध्यक्ष भएकाले पार्टी अध्यक्षको पद अर्को महाधिवेशनसम्मलाई भएको र बीचैमा छाड्नु पर्ने कारण नभएको तथा जनताबाट निर्वाचित भएर संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेकाले संसदीय दलले बहुमतले नहटाएसम्म प्रधानमन्त्री छोड्ने कुरै नहुने तर्कका साथ उनले अडान राखेका छन्।

राजीनामा माग्नेहरुको माग भने भारतविरुद्ध बोलेकै भरमा मात्र आएको हो कि भन्ने देखिएको छ किनकि ओलीले यसकारण राजीनामा दिनुपर्छ भनेर बैधानिक र राजनैतिक आधार र कारण पर्याप्तरुपमा सतहमा ल्याउन ओलीविरोध गुट सक्षम भएको छैन। बरु, पूर्वप्रधानमन्त्री र बरिष्ठ नेताहरु लाई ओलीले पद नदिएकाले उनको राजीनामा मागिएको आम बुझाइ बन्दै गएको छ।

फाइदामा दाहाल

पूर्व एमाले समूहबीचको आपसी विवादमा अध्यक्ष दाहाल खेलिरहेका छन्। पार्टीको महाधिवेशनमा झिनो मतान्तर (५० मत) ले मात्र पराजित भएका बरिष्ठ नेता माधवकुमार नेपाल र बर्दियाबाट संसदीय निर्वाचनमा पराजित भएपछि सत्ता राजनीतिबाट ओझेल परेका बामदेव गौतम दुबैले आआफ्नो पराजयलाई खुल्ला हृदयले स्वीकार गर्न नसकेको आरोप ओली पक्षले लगाउँदै आएको छ।

पार्टी विभाजित नै हुने अवस्था आए वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम र पूवअध्यक्ष भइसकेका झलनाथ खनाल र उनीहरुका पूर्व एमाले कार्यकर्ताहरुले प्रचण्डलाई सर्वसम्मत नेता स्वीकार गर्लान् कि त्यहाँ फेरि अर्को झगडा चर्केला त्यो समयले देखाउने छ।

पराजयलाई स्वीकार गरेर अघि बढ्नु पर्नेमा १५ बर्ष लामो एकछत्र शासन पार्टीभित्र चलाएर पराजित हुनु परेको पीडाबोध बोक्दै ओलीमाथि खनिएको नेता नेपालमाथि आरोप छ।

ओलीले पार्टी एकीकरण गर्नेसम्मको बोल्ड निर्णय गर्न सकेको र गत निर्वाचनमा पार्टीलाई दुईतिहाइको हाराहारीमा पुग्ने गरी जिताउन सफल भएको कुरा पचाउन नसकेर पांचबर्ष सत्ता सञ्चालन गर्न पाउने जनताको म्याण्डेटमाथि गुटको बुट बजार्न खोजेको आरोप नेपालमाथि लागेको छ।

उता, संसदीय निर्वाचनमा ओली समूहको षड्यन्त्रका कारण आफू हार्नु परेको आरोप लगाउने गरेका नेता गौतम त्यही कारण ओलीसँग टाढिएका छन्। ओलीविरोधी पूर्व एमालेहरुलाई एकजुट बनाउन सके उनीहरुको शक्ति जोडेर आफ्नो पनि मिसाउँदा एकीकृत पार्टीभित्र भविष्यसम्म दह्रो पकड बनाइराख्न सकिने वा विभाजित नै भए पनि ठूलो समूहको सर्वसम्मत नेता आफै हुने रणनीति दाहालको छ।

पार्टी विभाजित नै हुने अवस्था आए वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम र पूवअध्यक्ष भइसकेका झलनाथ खनाल र उनीहरुका पूर्व एमाले कार्यकर्ताहरुले प्रचण्डलाई सर्वसम्मत नेता स्वीकार गर्लान् कि त्यहाँ फेरि अर्को झगडा चर्केला त्यो समयले देखाउने छ।

पूर्वएमालेका असन्तुष्ट बरिष्ठ नेताहरुकोसमेत नेता बनिसकेको धारणा प्रचण्ड र उनको समूहले बनाइसकेका छ। किनकि प्रचण्ड पक्षधर पूर्वमाओवादी नेताहरुले विशेषत माधवकुमार नेपाललाई मुख्य नेता स्वीकार गर्न नसक्ने भन्दै दाहाललाई विगतदेखि नै दवाव दिँदै आएका छन्। अहिले नेता नेपाल र उनको समूहको नेताका रुपमा पनि प्रचण्ड नै देखिएपछि पूर्वमाओवादी समुह आश्वस्त भएको छ।

केहीवाहेक पूर्वमाओवादी समूह प्रचण्डकै नेतृत्वमा एकताबद्ध देखिँदै आएको छ। पार्टीभित्रको अहिलेको कलह एमालेका पूर्वगुटहरु बीचकै प्रमुखरुपमा भएकाले दाहालले परिस्थितिसँग खेलेर सो गुटको समर्थन लिन सके तत्काल पार्टी फुटे सो गुटसहितको सर्वसम्मत नेता र पार्टी नफुटे आगामी महाधिवेशनमा सो गुटसमेतको सक्रिय समर्थनमा पार्टीभित्र बलियो पकड बनाउने राणनीतिमा अध्यक्ष दाहाल लागेका छन्।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो