धेरैले चाहन्छन् ‘यस्तो घरबेटी मेरो पनि होस्’

डिसी नेपाल
२६ असार २०७७ ७:२०

काठमाडौं। ‘यो बैंकले पनि कति फोन गरेको? रकम भए त आफैं गएर खुरुखुरु किस्ता बुझाउँथे नि! आखिर बुझाउनै पर्ने रकम हो।’ सतुंगलका एक कपडा व्यापारी आफ्नै पसलमा निकै चिन्तित भएर दुखेसो पोख्दै थिए। ‘डेरावालाई पनि जबरजस्ती गर्ने कुरा आएन,’ करुणा देखाउँदै घरमा बस्नेप्रति भन्दै थिए, ‘काम धन्दा चलेपछि त भाडा बिस्तारै दिन्छ्न् नै।’

लामो श्वास लिँदै उनले थपे, ‘मैले अरु बैंकबाट ऋण लिनु पर्ने रहेछ। यो बैंकबाट लिएर ठूलो गल्ती गरे।’ वर्षात ऋतुको मौसम झैं उनको मुहारमा कालो बादल मडारिन्थ्यो त कतिबेला छर्लङ्ग घाम उदाउँथ्यो।

कथा पढेको जस्तो लाग्ला। तर, यो यथार्थ हो। सतुंगलमा घर भएका विश्वनाथ श्रेष्ठको अनुहारमा कतिबेला घाम लाग्थ्यो त कतिबेला भर्खर मुसलधारे पानी पर्ला झै गरी अधेरो छाउँथ्यो। श्रेष्ठ पेसामा व्यपार गर्छन्।  श्रेष्ठले घर बनाउँदा लिएको ऋणको साँहु–ब्याज गरी महिनामा करिव ८० हजार किस्ता तिर्दै आएका छ्न्।

लकडाउन सुरुभएपछि अरु जस्तै श्रेष्ठले पनि बैंकलाई किस्ता तिर्न सकेका छैनन्। उनको आम्दानीले घर व्यवहार चलाउन ठिक्क छ। उनको किस्ता तिर्ने श्रोत भनेको घरभाडा नै हो।

‘लकडाउनभन्दा अगाडि व्यापारबाट नै मेरो घर चलाउने गरेको थिए। अहिले त व्यापार ठप्प छ। स्कुल,कलेज बन्द छ त कसरी व्यापार होस।’ उनले भने, ‘हामी त जेनतेन घर चलाउँला। मेरो घरमा मजदूरी गर्ने परिवार पनि बस्छ्न्। तिनीहरुलाई धेरै गाह्रो छ।कसरी चुलो बालुन्, के खाउन मैले सरसापट भनेर अलिअली त हेरिदिए।’

आफ्नो घरमा भाडा तिरेर बस्नेलाई आफ्नो परिवार भन्दाबढी रेखदेख गर्नमा व्यस्त हुन्थे उनी। उदार मनले उनले थपे, ‘मानिसमा मानवता हुनुपर्छ। बिचरा मान्छेलाई भोकमरी नै लागिसक्यो। मेरो घरको भाडा महिनामा असी हजार उठ्छ। म जसरी पनि व्यबहार मिलाउँला। मैले एक महिनाको भाडा सबैलाई छुट गरिदिएको छु।’

काठमाडौंलाई स्वार्थले भरिएको  सहर भनिन्छ। तर, दयाका खानी पनि यही शहरमा भेटिन्छन्। श्रेष्ठको यो कोमल मन र फराकिलो छाती देख्दा सायद धेरैले चाहन्छन होला यस्तो घरबेटी मेरो पनि होस्।

‘एक महिनाको त छुट भनेर नै निर्णय गरिदिएको छु। तर, अन्य महिनाको पनि भाडा चाहिँ आएको छैन। दिन नसकेर नै होला। बिस्तारै देलान। लामो समयदेखि आफ्नै परिवार जसरी बसेकालाई यस्तो अफ्ठ्यारो समयमा टचर दिनपनी सकिँदैन।’

‘समय यस्तो छ। आम्दानी कतैबाट छैन डेरावालाई मर्का छ।’ सोही कपडा पसलमा बस्दै गरेका एक पुरुष पछाडिबाट बोल्न थाले। कपडा पसलका घरबेटी पुष्प प्रधान आफ्नै भोगाइ जसरी बोल्दै थिए, ‘अहिले म केही गर्दिन तर यो भन्दा अगाडि मैले पनि व्यापार ब्यबसाय गरेको हो। अलिअलि व्यापार भएको कमाइ हुने हो बिचरा कमाइ नै छैन।’

पेसाले उनी व्यापारी नै रहेछ्न् तर अहिले भने घरभाडाबाट नै आफ्नो जीविकोपार्जन गर्ने प्रधानको मनलाई सानो भन्न मिल्दैन। ‘मैले ५० प्रतिशत मात्रै घरभाडा लिने भनेको छु। त्यति पनि नलिगे आफूले पनि खानु पर्यो।’ सानो घर भएका प्रधानको मन निकै ठूलो छ। ब्यापार नभएर कपडा मिलाउँदै गरेका पसले घारबेटिको कुरामा खुशी देखिन्थे।

काठमाडौंमा एक महिनाको सुत्केरीलाई खाने कुराको अभाव छ। यता घरबेटीले घरबाट निकाल्न जोड दिन्छ भन्ने समाचारहरु बाहिरिरहँदा संसारमा कोही भगवानका रुप पनि छन भन्ने विर्सनु हुँदैन।

सतुंगल विद्युत प्राधिकरण नजिकै घर भएकी कल्पना ढकाल यो समय मात्रै होइन अगाडिका समयमा पनि आफ्नो घरमा बस्नेलाई आफ्नै परिवार जस्तै मान्ने गरेका अनुभव सुनाउँछिन्। केही समय अगाडि सानोतिनो व्यवसाय गर्ने कल्पनाको खुशी परिवारको सोचाइ पनि सगरमाथा जस्तै उच्च छ।

‘घरमा बस्नेले खाए, खाएनन भन्ने चिन्ता पनि लागिरहन्थ्यो’, उनले भनिन्, ‘अहिले झन महामारी छ। हाम्रो अन्य कमाइ भएको भए त सबै छुट गर्न हुन्थ्यो तर मनले चाँहादा चाँहादै पनि सकिने अवस्थामा चाहिँ छैन। त्यसैले एक महिनाको भाडा चाहीँ छुट दिने निर्णय गरेको हो।’

लकडाउनका सुरुका दिनमा नै तीन महिनाको घरभाडा छुट दिने निर्णय गरेका कलंकीका हरिहर लामिछानेले समाजमा आफ्नो छुट्टै पहिचान बनाइसकेका छ्न।

समाजसेवी लामिछाने बालापनदेखि नै अरुलाई सहयोग गर्न पाउँदा खुशी हुने गरेको बताउछ्न, ‘मलाई बालापनदेखि नै अरुको लागि केही गर्न पाउँदा खुशी लाग्थ्यो। मेरो बुबादेखि नै मैले अरुलाई केही सहयोग गर्नुपर्छ अफ्ट्यारोमा त्यो नै धर्म हो भन्ने कुरा सिकेको हुँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *