भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको व्यारेक आँपटारी सारिने

डिसी नेपाल
३१ असार २०७७ १६:१०

चितवन । जिल्लामा रहेको भरतपुर विमानस्थल विस्तार हुने भएको छ। विमानस्थल विस्तारको योजना संघीय सरकारको नीति तथा कार्यक्रममा परेपछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सरोकारवालाहरुको यसबारे छलफल गरेकी छन्।

दाहालले बुधबार जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, विमानस्थल प्रमुखसहितलाई बोलाएर छलफल गरेकी हुन्।

छलफलका क्रममा भरतपुर १० मा रहेको नेपाली सेनाको ब्यारेक (कालीबहादुर गण)लाई भरतपुर १ को आँपटारीमा रहेको दियालो बंगलामा सार्ने सहमति भएको प्रमुख दाहालले जानकारी दिइन्।

‘नेपाली सेनाले विकास निर्माणमा सहयोग गर्दै दियालो बंगलामा जान सहमत भएको छ,’ महानगर प्रमुख दाहालले भनिन्, ‘सेनाको घोडा फर्म (प्रजनन केन्द्र) समेत भरतपुर ११ बसेनीमा रहेको फायरिङ रेन्जमा सार्ने सहमति भएको छ ।’

विमानस्थल विस्तारका लागि सेनाको ब्यारेकको आवश्यक जग्गा लिने र बाँकी रहेको ठाउँमा सेनाको टुकुडी राख्दा विमानस्थलको सुरक्षा समेत मजबुत हुने छलफलमा सहभागि सरोकारवालाको भनाई थियो।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सेनाको ब्यारेक सारेर विमानस्थल विस्तार भएपछि बाँकी रहेको स्थानमा सेनाको एयर बेस र जलिस्टिक राख्न दिनुपर्ने बताएका छन्। सक्दो छिटो सेनाको ब्यारेक स्थानान्तरण गरेर विमानस्थल विस्ताको काममा अगाडि बढ्नुपर्ने भट्टराईको भनाइ छ ।

भरतपुर विमानस्थलका प्रमुख पवन गौतमले विमानस्थल विस्तारका लागि गुरुयोजना निर्माणको काम शुरु भएको बताए। नागरिक उड्डयन प्राधिकरणले भरतपुर विमानस्थललाई आन्तरिक तर्फको क्षेत्रीय विमानस्थल बनाउनेगरी गुरु योजना बनाउन लागेको जानकारी दिए ।

गुरु योजना र डीपीआर निर्माणको काम शुरु भइसकेको भन्दै गौतमले सेनाको ब्यारेक स्थानान्तरण भएपछि विमानस्थल विस्तारको काम तत्काल सुरु गरिने जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *