कास्कीको माछापुच्छ्रेमा पहिरोमा परी तीन जनाको मृत्यु, ५ घरपरिवार जोखिमा
फाइल फाेटाे।
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा शुक्रबार बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। तीन जना एउटै परिवारको दिदीभाइ रहेका छन्। गाउँपालिकाको वडा नं ८, खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान ५ः३० बजेको समयमा पहिरोले बगाएको हो। उनका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १७ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले डिसी नेपाललाई जानकारी दिए।
डिसी नेपालसँग कुरा गर्दै उनले भने, ‘ उहाँहरुको २ वटा घर थियो। मुल घरमा हजुरबुवा (घरमुली प्रेमराज विक) सुत्नु भएको रहेछ । अर्को घरमा तीन दिदीभाइ बसेका रहेछन्। विहान ५ः३० बजे आएको पहिरोले बगायो।’
सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकाली सकिएको उनले जानकारी दिए। मृतक समिर र कुशलका बुबा बैदेशिक रोजगारमा रहेका छन्, रेजिनाका बुबा भने पोखरामा बस्ने वडा अधयक्ष दवाडीले जानकारी दिए।
प्रेमराज विकको ब्लकले बनाएको घर पहिरोले बगाएको हो। सबै जना बजारमै बस्ने भएपनि लकडाउनका कारण ३ दिदीभाई घर गएको वडा अध्यक्ष दवाडीले बनाए। उनले भने, ‘पहिला सबै जना बजार बस्थे। समिर र कुशलका बुबा विदेश हुनुहुन्छ। रेजिनाका बुबा बजारमा बस्नु हुन्छ। उनीहरु पनि बजारमै बस्थे । लकडाउन भएका कारण घर आएका हुन्।’
पहिरोले अरु ५ घरपरिवारलाई समेत जोखिममा पारेको दवाडीले जानकारी दिए। ‘अरु पनि ५ वटा घरपरिवारलाई पहिरोले जोखिममा पारेको छ। हामी उनीहरुलाई स्थानीय विद्यालय, खाली भएका अरु घरहरु र सामूदायिक भवनमा सार्ने व्यवस्था मिलाउँदै छौं।’







डिसी नेपाल








Facebook Comment