निर्वाचनमा खटिने अधिकृतलाई अभिमुखीकरण
चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ। चितवनका तीन निर्वाचन क्षेत्रमा रहेका ४९४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आजदेखि अभिमुखीकरण सुरु गरिएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज चितवन क्षेत्र नम्बर २ मा खटिने कर्मचारीहरूलाई अभिमुखीकरण तालिम दिएको छ। बुधबार क्षेत्र नम्बर ३ को रामपुरमा र बिहीबार क्षेत्र नम्बर १ मा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई खैरहनीमा अभिमुखीकरण तालिम दिइने छ।
अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचनलाई निश्पक्ष र मर्यादित बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतको भूमिका महत्त्वपूर्ण हुने बताए। मतदान अधिकृतहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासन तयार रहेको उनले बताए।
प्रमुख निर्वाचन अधिकृत केदारनाथ पौडेलले निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेर निर्वाचन सम्पन्न गर्न आवश्यक रहेको बताए। निर्वाचन आयोगको अन्तिम चरणको कामको जिम्मेवारी मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूमा हुने भएकाले आफ्नो भूमिकालाई नर्विसन उहाँले सबैलाई आग्रह गरे।
क्षेत्र नम्बर २ मा १५२ जना मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृत खटिने छन्। यस्तै क्षेत्र नम्बर १ मा १६८ जना मतदान अधिकृत र सोही संख्यामा सहायक अधिकृत एवं क्षेत्र नम्बर ३ मा १७४ जना मतदान अधिकृत र सहायक अधिकृत खटिने निर्वाचन कार्यालयले जनाएको छ।
अभिमुखीकरण कार्यक्रममा चितवन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत बालकृष्ण निरौला, सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनमा हुने सुरक्षाका बारेमा जानकारी गराए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी, सशस्त्र प्रहरीका उपरीक्षक धनबहादुर बानियाँ, नेपाली सेनाका दिनेश बोहोरा र राष्ट्रिय अनुसन्धानका सुरेश तिवारीले लगायतले निर्वाचन सुरक्षाका बिषयमा जानकारी गराउँदै सबैसँग सहकार्य गरेर अघि बढ्न आग्रह गरे।







डिसी नेपाल







Facebook Comment