पहिरोबाट उद्धार गरिएकाहरूको अनुभूति: नयाँ जीवन पायौं

डिसी नेपाल
१२ असोज २०८३ १०:०८

म्याग्दी। पहिरोमा फसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर पुन र वडा नम्बर १ दोवाका ४१ वर्षीय ललित पुन आइतबार करिब १२ घण्टा पहिरोको बीच भागमा थुनिए।

चार दिनदेखिको लगातारको झरीपछि आइतबार बिहानैदेखि प्रेमबहादुरको घर वरपर निरन्तर पहिरो खसेर घेरिएको थियो। दिउँसो ३ः०० बजेपछि नेपाली सेनाको हेलिकप्टरमा गएका सुरक्षाकर्मीहरूले उद्धार गरेर बेनी ल्याएपछि पुनद्वयले नयाँ जीवन पाएको अनुभव सुनाए।

“मेरो घर डाँडामा छ, दुईतिर खोल्सा छन्, दायाँ र बायाँ पहिरो खसिरह्यो, तल र माथि भिर भएकाले अन्य जाने बाटो भएन, अब यत्तिकै त होला नि हाम्रो जीवन भन्ने त्रासमा बसिरह्यौँ,” प्रेमले भने, “फोन गरे पनि कतै लाग्दैनथ्यो, छट्पटीमै १२ घण्टा बित्यो, दिउँसो पानी बन्द भयो, आकाश पनि खुल्यो र त्यसपछि हेलिकप्टर आउन थालेपछि बाँच्ने आश पलायो, उद्धार भएपछि नयाँ जीवन पाएको महसुस गरेका छौँ।”

घरमा एक्लै बस्ने प्रेमबहादुरकहाँ दोवाका ललित खोपारा लेकको भेडागोठबाट घर फर्कने क्रममा बास बसेका थिए।

“गोठबाट चार महिनापछि घर जान फर्कँदै थिएँ, रात परेर पाहुना बसेकै ठाउँ पहिरोले घेरिएपछि घरपरिवार र आफन्त भेट्न नपाइने भयो भनेर चिन्तित बनेको थिएँ,” ललितले भने, “दिनभरि छट्पटीमै बित्यो तर दिउँसो उद्धार गरेर बेनी ल्याएपछि कतिबेला परिवारलाई भेटौँ भन्ने लागेको छ तर घरमा फोन पनि लाग्दैन, जाने बाटो पनि नभएर बेनीमै बसेको छु।”

हेलिकप्टरबाट उद्धार गरेर बेनी ल्याइएका पुनद्वयले प्रशासन कार्यालयमा आएर जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायलाई धन्यवाद दिए। मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा काम गर्ने प्रेमले नेपाली सेनाको घारखोलामा रहेको पोष्टका कमाण्डरलाई फोन गरेर जानकारी गराएका कारण उद्धारमा सजिलो भएको बताए।

पछिल्लो झरी र आइतबारको पहिरोले अन्नपूर्ण गाउँपालिका-५ मा पर्ने गिवाङ, पाउद्वार, घिरवाङ, धोस्केखोर, किन्दुलाई प्राकृतिक नाकाबन्दी गरेको छ। पहिरोले सडक र पैदलमार्ग बगाएपछि कोही गोठ त कोही गाउँमै थुनिएका थिए। आइतबार पाउद्वार र गिवाङबाट ७८ जनालाई हेलिकप्टरबाट उद्धार गरेर शिख, घार र बेनीमा ल्याइएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए।

सोमबार पनि पहिरोमा फसेकाहरूको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ।

अन्नपूर्ण गाउँपालिका-७ औलाका डिलप्रसाद फगामीले बस्ती माथिबाट निरन्तर पहिरो खसिरहेकाले स्थानीयवासी घर छाडेर स्वास्थ्य चौकीको भवन र पाखाका गोठमा बसेको बताए। करिब एक सय घरपरिवार रहेको औलाका बासिन्दा उद्धारको प्रतीक्षामा रहेको उनले जनाए।

जिल्लामा पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या छ जना पुगेको छ भने तीन जना बेपत्ता भएका छन्। अन्नपूर्ण गाउँपालिकामा चार र मालिका गाउँपालिकामा दुई जनाको शव भेटिएको छ। म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बेनी नगरपालिकामा एक र अन्नपूर्ण गाउँपालिकामा दुई जना बेपत्ता भएको जानकारी दिए।

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्र भएको, विद्युत्, सञ्चार तथा सडक अवरुद्ध भएकाले घटनास्थलबाट जानकारी प्राप्त हुन, सुरक्षाकर्मी पुग्न, उद्धार र बेपत्ताको खोजीमा ढिलाइ भएको सहायक प्रजिअ कुलप्रसाद आचार्यले बताए।

चार दिनको लगातारको झरीका कारण बाढीपहिरोले म्याग्दीमा विद्युत्, सडक र सञ्चार सुविधा अवरुद्ध बनेको छ। बेनी-जोमसोम, बेनी-दरवाङ, बेनी-पाखापानी र बेनी-बागलुङ सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *