हुम्लामा जडीबुटी संकलन गर्न गएका मुगुका दुई जना बेपत्ता, एक जनाको हिउँमा परेर मृत्यु
सुर्खेत । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनको मिमि पाटनमा जडीबुटी संकलन गर्न गएका मुगुका दुई जना अझै सम्पर्कविहीन छन्। जडीबुटी संकलनका लागि १३ जनाको समूहमा गएका उनीहरूमध्ये १० जना सम्पर्कमा आएका छन् भने एक जनाको हिउँमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।
सम्पर्कविहीन हुनेमा मुगुम कार्मारोङ गाउँपालिका–९ का ३६ वर्षीय ललितजंग बढुवाल र २६ वर्षीय अंख रोकाय रहेका छन्। उनीहरू अझै सम्पर्कमा नआएपछि गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय मुगुलाई जानकारी गराएको छ।
मुगुम कार्मारोङ गाउँपालिका–९ पापुका २२ वर्षीय गणेश बुढाको भने हिउँमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी रविराज थपलियाले जानकारी दिए। उनका अनुसार घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले लगातार भइरहेको हिमपातका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको छ।
प्रहरीका अनुसार भदौ २८ गते मुगुम कार्मारोङ–९ पापु र छाइलका १३ जना स्थानीय कटुको जडीबुटी संकलनका लागि हुम्लाको बागेढुंगा सामुदायिक वन पुगेका थिए। उनीहरू जडीबुटी संकलन गरिरहेका बेला सामुदायिक वन उपभोक्ता समितिले जडीबुटी संकलन गर्न नदिएपछि फर्किएका थिए।
फर्कने क्रममा उनीहरूले घुँडासम्म हिउँ जमेको क्षेत्र पार गर्नुपरेको थियो। सोही क्रममा गणेश बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। उच्च क्षेत्रमा भारी हिमपात भइरहेकाले अन्य दुई जनासँग सम्पर्क हुन नसकेको डिएसपी थपलियाले बताए।
उनका अनुसार अग्लो हिमाली क्षेत्र पार गरेर फर्किनुपर्ने भएकाले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्नसमेत कठिनाइ भइरहेको छ। ‘अग्लो हिमाल काटेर आउनुपर्ने र हिउँ धेरै भएकाले सम्पर्क हुन सकेको छैन,’ उनले भने, ‘हिउँबाट भाग्ने क्रममा एक जनाको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।’
प्रहरीका अनुसार पापुका २८ वर्षीय बलबहादुर बुढा, २७ वर्षीय प्रकाश बुढा र ३५ वर्षीय जयबहादुर बढुवाल सम्पर्कमा आएका छन्। यस्तै, छाइलका ३६ वर्षीय जयबहादुर रोकाय, ४२ वर्षीय वीरबहादुर ऐडी, २३ वर्षीय प्रेम रोकाय र १९ वर्षीय पवन रोकाय पनि सम्पर्कमा आएका छन्।
यसैगरी पापुका ३६ वर्षीय बच्चा बुढा, ३४ वर्षीय प्रिय बुढा र १६ वर्षीय सर्जन बुढा आइतबार बिहान नै सम्पर्कमा आएको प्रहरीले जनाएको छ।
दुई जना सम्पर्कविहीन भएको जानकारी पाएलगत्तै मुगु र हुम्लातर्फबाट प्रहरी परिचालन गरिएको डिएसपी थपलियाले बताए। मिमि क्षेत्र हुम्ला र मुगु जिल्लाको सीमा क्षेत्रमा पर्ने भएकाले घटनाको वास्तविक अवस्था बुझ्न दुवै जिल्लाका सुरक्षा निकायले खोजी तथा अनुसन्धान गरिरहेका छन्।
उच्च हिमाली क्षेत्रमा लगातार हिमपात भइरहेकाले सम्पर्कविहीन ललितजंग बढुवाल र अंख रोकायको खोजीमा थप कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजीका लागि स्थानीयस्तरमा समेत समन्वय भइरहेको छ।

No ads found for this position



डिसी नेपाल
Facebook Comment