कालीगण्डकी नदीमा जलसतह घटेपछि कालीगण्डकी ‘ए’ बाट पुनः विद्युत् उत्पादनको तयारी
वालिङ (स्याङ्जा)। स्याङ्जाको कालीगण्डकी-५ बेल्टारीस्थित नेपालकै ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले अवरुद्ध विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने भएको छ।
चार दिनदेखिको लगातार वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि जोखिम नियन्त्रणका लागि आयोजना बन्द गरिएको थियो।
नदीमा जलसतह घट्न थालेपछि आज बिहान १० बजेदेखि उत्पादन सुचारु गर्ने तयारी गरिएको आयोजना प्रमुख आत्मेस पौडेलले जानकारी दिए।
उनका अनुसार प्राविधिक टोलीले बाढीपछिको अवस्थाबारे निरीक्षण गरिसकेको छ भने सुरूमभित्र जमेको हिलो हटाउने र पावर हाउसको अवस्था जाँचेर विद्युत् उत्पादन थालिनेछ। बाढीको जोखिम बढेपछि मिर्मीस्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा फालिएको थियो। १४४ मेगावाट क्षमताको यस आयोजनाबाट नियमित उत्पादन हुँदै आएको छ।
यसैबीच, वर्षाका कारण कालीगण्डकीमा आएको बाढीले स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीवेणी बजार डुबानमा परेको छ।
डुबानको जोखिममा परेका सेतीवेणीका २६ घरका स्थानीयलाई नजिकैको विद्यालयमा सारिएको छ। बाढीले आइतबार बिहान आयोजनाको बाँधस्थलभन्दा केही तल रहेको स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुलसमेत बगाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment