भागबण्डा कि निर्वाचन? काठमाडौं क्षेत्र नं-३ को कांग्रेस अधिवेशन बन्दसत्रसम्म स्थगित
काठमाडौं। नेपाली कांग्रेसकाे १५औं महाधिवेशनअन्तर्गत काठमाडौं जिल्ला क्षेत्र नं-३ को क्षेत्रीय अधिवेशन विगत दुई दिनदेखि अन्योलमा परेको छ।
जोरपाटीस्थित पिस ब्यानक्वेटमा असोज १० गतेका लागि तय गरिएको अधिवेशन प्रतिकूल मौसमका कारण देखाउँदै ११ गतेलाई सारिएको थियो।
तर, आइतबार सहमति र सहकार्यको बहानामा क्षेत्रीय तथा दुवै प्रदेश सभा (१ र २) को उद्घाटन सत्रबाहेक अन्य निर्वाचन प्रक्रिया अघि बढ्न सकेन। सहमति नजुटेपछि अन्ततः बन्दसत्र आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
काठमाडौं-३ मा पहिलो दिनदेखि नै युवा कार्यकर्ताहरूले ‘चुनाव नै लोकतन्त्रको मेरुदण्ड हो’ भन्ने मूल नाराका साथ निर्वाचनमार्फत स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनुपर्ने जोडदार माग गर्दै आएका छन्। सर्वसम्मतिका नाममा भागबण्डा गर्नुभन्दा लोकतान्त्रिक विधिबाटै नेतृत्व चुनिनुपर्ने उनीहरूको अडान छ।
युवा नेता शिव श्रेष्ठ (शिवु) ले निर्वाचन भए मात्र आकांक्षी उम्मेदवारहरूले आफूले चाहेको पदमा प्रतिस्पर्धा गर्ने अवसर पाउने बताएका छन्।
“हार-जीत जसको भए पनि लोकतान्त्रिक विधिबाट आएको नेतृत्वलाई सबैले सहज रूपमा स्वीकार गर्छन्,” उनले भने, “अहिले सर्वसम्मतिको नाममा उम्मेदवारहरूलाई प्रतिस्पर्धा गर्न नदिइने हो भने उनीहरू थप रुष्ट हुने स्थिति बन्छ।”
पुराना दलहरूप्रति जनमानसमा वितृष्णा र कार्यकर्ताहरूमा असन्तुष्टि बढिरहेका बेला निर्वाचन नै एकमात्र पारदर्शी विकल्प भएको उनको ठहर छ। अहिले जबरजस्ती सर्वसम्मत गरिए आगामी आम निर्वाचनमा टिकट वितरणमा पनि सोही प्रवृत्ति दोहोरिने डर कार्यकर्ताहरूमा रहेको श्रेष्ठले स्पष्ट पारे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment