बालेन सरकारविरुद्ध सडकमा उत्रिने नेकपा (बहुमत) को चेतावनी
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का नवनिर्वाचित महासचिव उदय बहादुर चलाउने ‘दिपक’ ले नेपाली जनताको अवस्था बदल्न वर्तमान व्यवस्था नै विस्थापन गर्नुपर्ने बताएका छन्।
पार्टीको प्रथम राष्ट्रिय सम्मेलनबाट महासचिवमा निर्वाचित भएपछि आइतबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले सरकारका जनविरोधी कदमहरूविरुद्ध निकट भविष्यमै संघर्षका कार्यक्रम अघि बढाउने घोषणा गरे।
जनसंविधान निर्माणका लागि व्यापक जनपरिचालन गर्दै दलाल पुँजीवादी व्यवस्था ढाल्ने संघर्ष अगाडि बढाउने महासचिव चलाउनेको भनाइ छ। वर्तमान सरकारले इतिहासमै राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाएको, सुशासनको नाममा कुशासनलाई प्रश्रय दिएको र जनजीविकालाई थप कष्टकर बनाएको आरोप उनले लगाए।
“शुरुमै सुकुम्बासी बस्तीमा डोजर चलाएर यो सरकार निम्न वर्गको शत्रु र उच्च वर्गको रक्षाकवच बनेको पुष्टि भएको छ,” चलाउनेले भने।
भोटेकोशीको बाढीलाई अवसर बनाएर सरकारले ‘एकद्वार प्रणाली’का नाममा अर्बौँ रकम संकलन गरे पनि बाढीपीडितलाई वितरण नगरी प्रधानमन्त्रीको कार्यालयमा थन्क्याउनु रकम अपचलन र भ्रष्टाचारसरह भएको उनले दाबी गरे।
प्रधानमन्त्रीको अपरिपक्वताका कारण हजारौँ नागरिकले ज्यान गुमाउनुपरेको र उद्धार तथा राहत कार्य अझै प्रभावकारी हुन नसकेको भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे।
कार्यक्रममा पार्टीका नेता गुणराज लोहनीले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले हिमालय क्षेत्रलाई प्रयोगशालाका रूपमा प्रयोग गर्न दिने आशयको अस्पष्ट अभिव्यक्ति दिएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment