चोलेन्द्रको विषयमा सरकारलाई रक्षा बमको प्रश्न- ‘जेनजी’ कुनै भूमिगत सशस्त्र समूह हो?
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ रहेको भन्दै मध्यरातमा प्रहरी कार्यालय लगिएको विषयमा अभियन्ता रक्षा बमले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्।
अभियन्ता बमले सामाजिक सञ्जालमार्फत पक्राउ पुर्जीबिनै जबरालाई मध्यरातमा प्रहरी नियन्त्रणमा लिइएको भन्दै आपत्ति जनाएकी हुन्। ‘दुईतिहाइको सुरक्षा दिने तरिका पनि गज्जबकै रहेछ,’ उनले लेखेकी छन्, ‘पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ भयो भनेर मध्यरातमा पक्राउ पुर्जीबिनै लगिएको रहेछ।’
उनले ‘जेनजी’ लाई सुरक्षा खतराका रूपमा चित्रण गरिएको विषयमा प्रश्न उठाउँदै भनिन्, ‘यो जेनजी भनेको को हो हजुर? कुनै आतंकवादी संगठन हो कि भूमिगत सशस्त्र समूह हो?’
सरकारले शक्तिको आडमा कानूनी विधि र प्रक्रिया पालना नगरी आफूखुसी मानिस नियन्त्रणमा लिने र आरोप लगाउने काम गरिरहेको उनको आरोप छ। आफ्ना कदम ढाकछोप गर्न ‘जेनजी’ शब्दको दुरुपयोग गरिएको हुन सक्ने उनले आशंका गरेकी छन्।
‘यदि ‘जेनजी’ कुनै संगठित सुरक्षा खतरा हो भने त्यसको प्रमाण कहाँ छ?,’ उनले प्रश्न गरेकी छन्, ‘प्रमाण छैन भने यो सरासर दुईतिहाइको शक्तिको डर देखाएर पक्राउ गरिएको हो, अरू केही होइन। आफ्नो राजनीतिक दाउपेच मिलाउन नसकेर मध्यरातमा मानिस पक्राउ गर्ने अनि दोषचाहिँ जेनजीलाई दिने?’
सुरक्षा निकायको प्रयोगलाई लिएर पनि उनले सरकारको आलोचना गरेकी छन्। सरकारले सुरक्षा निकायलाई ‘नगर प्रहरी चलाएझैं’ दुरुपयोग गरिरहेको टिप्पणी उनले गरेकी छन्।
पूर्वप्रधानन्यायाधीश जबरालाई शनिबार राति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिई टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुर्याइएको थियो। उनलाई आइतबार दिउँसो भने घर फिर्ता पठाइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment